हेटौंडा १५ को चिप्लेटी बाँसघारीमा स्वास्थ्य चौकी र विद्यालय भवनको शिल्यानाश
हेटौंडा / हेटौंडा उपमहानगरपालिका १५ को विकट चिप्लेटी बाँसघारीमा शहरी स्वास्थ्य चौकी निर्माणको शिल्यान्यास भएको छ । बिहिबार हेटौंडा १५ का वडाध्यक्ष सुनिल मोक्तानले भवनको शिल्यानास गरेका हुन् ।
बारा जिल्लाको सिमनामा रहेको हेटौंडाकै विकट मानिने चिप्लेटी बाँसघारीमा स्वास्थ्य चौकी बन्ने भएपछि स्थानीयहरु खुसी भएका छन् । गाउँमा स्वास्थ्य चौकी नहुँदा सामान्य बिरामी हुँदा पनि उपचारका लागि बजारसम्म आउँदा धेरै खर्च लाग्ने गरेको स्थानीयहरु बताउँछन् । अब गाउँमै स्वास्थ्य चौकी बन्ने भएपछि उनीहरु दंग देखिएका छन् ।
हेटौंडा १५ नम्बर वडा कार्यालयको पहलमा हेटौंडा उपमहानगरपालिकाको १० लाख रुपैंयाले बजेटमा दुईकोठे भवन निर्माण गर्न लागिएको वडाध्यक्ष मोक्तनले बताए । उनका अनुसार यहि आर्थिक बर्ष भित्रै भवन सम्पन्न गरेर स्वास्थ्य सेवा दिने योजना रहेको छ।
यस्तै बिहिबार अध्यक्ष मोक्तानले सोही स्थानमा रहेको विश्वज्योती आधारभूत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरेका छन् । कक्षाकोठा अभावका कारण खेप्नु परेको सास्तीलाई हल गर्न विद्यालय भवन निर्माण गर्न लागिएको उनले बताए । उपमहानगरपालिकाको ४० लाख बजेटमा विद्यालयको ४ कोठे भवन निर्माण गर्न लागिएको हो ।