रुवीभ्याली र खनियाबास जाने सडक मर्मत गर्न सांसद तामाङको माग
हेटौंडा / बागमती प्रदेश सभा सदस्य डम्बर तामाङले रुवीभ्याली गाउँपालिकामा दशैंको बेलामा पनि नागरिकहरु घर जान नसक्ने अवस्था रहेको बताए ।
प्रदेशका पूर्व मन्त्री समेत रहेका तामाङले धादिङको उत्तरी भेगमा अवस्थित रुवीभ्याली गाउँपालिका र खनियाबास गाउँपालिकामा साउनको अन्तिम तिर परेको बर्षाका कारण चाडपर्वको क्रममा पनि त्यहाँका मानिसहरु सहज ओहोरदोहोर गर्न नपाएको तामाङले बताएका हुन् ।
आइतबार (आज) बागमती प्रदेश सभाको बिशेष समयमा बोल्दै सांसद तामाङले चाडपर्व सुरु हुनुपूर्व नै सडक मर्मतको काम गर्न आवश्यक रहेको बताएका हुन् । ‘रुवीभ्याली र खनियाबास जाने बाटो मर्मत नगरिए मानिसहरु दशैं मान्न घर जानसक्ने अवस्था नै छैन,’ तामाङले भने, ‘त्यहाँका जनताको समस्या मैले राम्रोसँग बुझेको छु । त्यसैले सभामुख ज्यू मार्फत सरकारलाई यस बिषयको ध्यानाकर्षण गराउन चाहान्छु ।’
आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर बागमती प्रदेशका त्यस्ता ग्रामिण सडक सञ्जालहरुको मर्मत गर्न अत्यन्त जरुरी रहेको तामाङले बताए ।