कालीमाटीमा कन्दमूलको मारामार व्यापार, भारतीय तरुलका कारण नेपाली किसानले पाएनन् लाभ
काठमाडौं / माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाडमध्येको एक हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
यस दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा शरीरलाई न्यानो पार्ने भएकाले माघे सङ्क्रान्ति दिन यस्ता खानेकुरा खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुन्छ भन्ने धार्मिक विश्वास पनि छ ।
माघे सङ्क्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल, चाकु र तिलको व्यापार फस्टाएको छ । काठमाडौँको कालीमाटी तथा बल्खु तरकारी तथा फलफूल बजारमा माघे सङ्क्रान्ति पर्वका लागि कन्दमूल किनबेच गर्नेहरूको बाक्लो भीड लागेको छ ।
माघे सङ्क्रान्ति नजिकिएका कारण यति बेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त देखिन्छन् । बजारमा धेरैजसो तरुलहरू भारतदेखि नेपालका विभिन्न स्थान धादिङ, सर्लाही, काभ्रे, चितवन लगायत जिल्लाहरूबाट भित्रिएको व्यवसायी बताउँछन् । पोहोरभन्दा कन्दमूलको माग कम रहेको तर, महँगी बढेको बताउँदै व्यवसायी पुष्कर कोइराला भन्छन्, ‘पोहोरभन्दा यसपालि तरुलको मूल्य वृद्धि भएको छ । गत वर्ष पाँच सय रुपैयाँ ढक (पाँच किलोको एक ढक हुन्छ) मा पाइन्थ्यो । तर, अहिले बढेर सात सय रुपैयाँ पुगेको छ ।’
त्यस्तै, अहिले दैनिक दुई लाखभन्दा बढीको कन्दमूलको व्यापार गरिरहेको कालीमाटी बजारकै अर्का व्यापारी रामप्रसाद महतो बताउँछन् । उनी भन्छन्, ‘अहिले तरुल लगायत कन्दमूलको व्यापार राम्रो छ । पछिल्ला केही दिन यता दैनिक दुई लाख भन्दा बढीको तरुल लगायत कन्दमूलको व्यापार गर्दै आएको छु ।’
उनले प्रतिढक चार सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्ममा तरुल बिक्री गरिरहेका छन् । केही दिन यता यसको माग बढिरहेकोले व्यापार राम्रो रहेको उनले सुनाए । आफूले मात्रै बिहानकै समयमा दुई गाडीसम्म बिक्री गरिसक्ने गरेको उनको भनाई छ ।
तरुल वा अन्य कन्दमूल मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छन् । समाजशास्त्रीहरुले अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमूल खाएर पनि प्राण धान्ने पौराणिक चलनको निरन्तरताको रुपमा यस बेला तरुल खानेकुरालाई व्याख्या गर्ने गरेका छन् । जे होस्, अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमूल खानु निकै उपयोगी हुन्छ ।
धादिङका रुद्र बहादुर थापा प्रत्येक वर्ष माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौँमा तरुलको व्यापार गर्न आउँछन् । यस वर्ष पनि उनी एक हप्ता अगाडीदेखि कालीमाटी तरकारी बजारमा तरुलको व्यापार गरिरहेका छन् । उनी नेपालका विभिन्न ठाउँबाट तरुल ढुवानी गरेर काठमाडौँमा बिक्री गर्छन् । तर, भारतबाट आयात भएका तरुलका कारण नेपालमा उत्पादन भएका तरुलको बजारलाई असर परेको उनको गुनासो छ ।
थापाले आर्थिकन्युज डटकमसँग भने, ‘भारतबाट आयात भएका तरुलका कारण नेपाली तरुलको व्यापारमा असर परेको छ । जबसम्म भारतीय वस्तुहरूको आयातमा रोक लगाइँदैन तबसम्म नेपाली किसानले उत्पादन गरेर कुनै चिजबाट पनि लाभ लिन सक्दैनन् ।’
त्यस्तै, माघे सङ्क्रान्ति नजिकिएसँगै कन्दमूल किन्न आउने ग्राहक बढेको रामेछाप घर भई हाल कालीमाटी तरकारी बजारमा व्यापार गर्दै आएका लोक बहादुर बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘केही दिनदेखि कन्दमूलको व्यापार राम्रै भइरहेको छ । ग्राहकको भिडभाड बढेको छ । मैले बिक्री गरिरहेको सबै प्रकारको तरुल सर्लाहीबाट ल्याइएको हो ।’
आर्थिक न्युजबाट ।