बागमती प्रदेश सरकारकोे चालु आर्थिक वर्षको छ महिनामा २० प्रतिशत मात्रै बजेट खर्च
हेटौंडा / बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा २० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । बिगतका वर्षहरुमा जस्तै चालु आर्थिक वर्षमा पनि सरकारको बजेट खर्च निकै कमजोर देखिएको छ । बजेट खर्चमा सधैँ कमजोर देखिँदै आएको बागमती सरकारको चालू आवको ६ महिनाको बजेट खर्च पनि कमजोर देखिएको छ।
आवको अन्तिममा हावादारी तवरबाट बजेट खर्च गर्ने गरेको बागमती प्रदेश सरकारले चालू आवको दोस्रो त्रैमासिकमा पनि उत्साहजनक रूपमा बजेट खर्च गर्न सकेको छैन। विगतका आवहरूमा शुरुको पहिलो र दोस्रो चौमासिकमा बजेट खर्च गर्न सुस्त देखिने गरेको बागमती प्रदेश सरकार आवको अन्तिममा बजेट सिध्याउने चटारोमा हुने गर्थ्यो। जसले गर्दा एकै महिनामा १५ प्रतिशतसम्म बजेट खर्च भएको थियो।
आवको शुरुमा बजेट खर्चमा सुस्त देखिँदै आएको बागमती सरकार यो आवमा पनि खर्चमा कमजोर देखिएको हो। बागमती प्रदेश सरकारले चालू आव २०७९।८० को पहिलो चौमासिकमा २० प्रतिशत मात्रै बजेट खर्च गरेको छ।
बागमती प्रदेश सरकारले चालू आवको साउनदेखि पुस मसान्तसम्म कुल बजेटबाट पहिलो ६ महिनामा २०.७९ प्रतिशत खर्चिएको हो। कुल बजेट ७० अर्ब ९३ करोड ९२ लाखमध्ये यस प्रदेशले चालूतर्फ १९ अर्ब २ करोड ४१ लाखबाट ३२.६८ प्रतिशत अर्थात् ६ अर्ब २१ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ।
पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ३७ करोड ८१ लाख अर्थात् १०.५३ प्रतिशत खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन भएकामा प्रदेशले ६० करोड खर्चिएको छ।
वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड २७ लाख विनियोजन हुँदा पहिलो ६ महिनामा ३ अर्ब ५५ करोड ३ लाख रुपैयाँ खर्च भएको बताइएको छ। अघिल्लो सरकारमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहिसकेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि निर्वाचनका कारण नै विनियोजित बजेट कम खर्च भएको दाबी गरे।
‘निर्वाचनका कारण धेरै योजना अगाडि बढ्न पाएनन्, जसका कारणले खर्च कम भएको हो। अब विस्तार खर्च बढ्छ’, उनले भने। जम्कट्टेलले सरकारले पूर्णता पाएसँगै बजेट खर्च पनि बढ्ने बताए।