रास्वपाले दिएको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने प्रधानमन्त्रीको अडान कायमै

पालिका डायरी
२१ माघ २०७९, १४:०७
रास्वपाले दिएको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने प्रधानमन्त्रीको अडान कायमै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ । यसबीचमा सत्तारुढ दलहरुबीच संयुक्त बैठक बस्न सकेको छैन ।

रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान कायमै छ । अस्ति बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन माग गरेको थियो ।

आजसम्म गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने रास्वपाको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको मुद्दा टुङ्गो नलागेसम्म धैर्यता गर्नुपर्ने बताउँदै आउनुभएको छ । प्रधानमन्त्रीको अडानका कारण एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछाने असन्तुष्ट छन् ।

पूर्वसहमतिअनुसार गृह मन्त्रालय रास्वपाकै भागमा परेको भन्दै ओलीले प्रचण्डलाई दबाब दिँदै आउनुभएको छ । सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर भएपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो । सर्वोच्चको आदेशपछि नागरिकता लिएका लामिछानेले गृह मन्त्रालय पाउनुपर्ने दबाब दिँदै आउनुभएको छ । यही विषयमा सत्तारुढ दलभित्र विवाद बढ्दै गएको छ ।

प्रतिक्रिया
rsp_meeting_1_dChwrrsiI9-1