बगान : आमाको विवाहका लागि छोरीले गरेको संघर्षको कथा
केही साताअघि पूर्वबैंकर रविना देशराज जोशीले दोस्रो विवाह गरिन्। पारपाचुकेको लामो समयपछि विवाह गरेकी रविनाको विवाहले नेपाली समाजमा बेग्लै खालको तरंग ल्यायो। खासमा उनले विवाह मात्रै गरिनन्, धुमधामसँग विवाह गरेर एक्लो जीवन बाँचिरहेका अन्य महिलालाई पनि आफ्नो खुसीको जीवन बाँच्न उत्प्रेरणा दिइन्। धेरैले उनको धुमधाम विवाहको कुरा काटे। थुप्रैले क्रान्तिको संज्ञा पनि दिए।
कम्तीमा नेपाली समाजका लागि रविनाको यो कदम विद्रोह पनि थियो। तर उनले एकल भएपछि विवाहको मण्डपमा बस्दासम्म के–के भोगेर आइन् होला, त्यो रविनाले देखाइनन्। हाम्रो समाजका रविनाहरुले एकल भएपछि विवाहको मण्डपमा बस्दासम्म के–के सुन्नु, भोग्नु र बाँच्नु पर्छ भनेर जान्न भने यो फिल्म ‘बगान’ हेर्न जानु पर्छ।
समाजको यही कथालाई टपक्क टिपेर पुराना अभिनेता सरोज खनालले निर्देशनमा डेब्यु गरेका छन्। ‘बगान’ मार्फत एकल महिलाको नयाँ जीवन सुरुवातको बाटोमा आउने थुप्रै अवरोध देखाइएको छ।
विशेष गरेर एकल आमाका सन्तान हुर्कदै गर्दा कस्तो मानसिक अवस्थाबाट गुज्रन्छन् भन्ने कुराले ‘बगान’लाई गहकिलो बनाएको छ। एकल आमाको भूमिकामा देखिएकी करिश्मा मानन्धर र उनकी हुर्कंदै गरेकी एक्लो सन्तान प्राप्ति (प्रमिला कार्की)ले गरेको मानसिक द्वन्द्वको कथा हो बगान। एक्ली आमाले सन्तानका लागि गर्ने संघर्ष, सन्तानको मुख हेरेर हरेक अप्यारो परिस्थितिसँग लडेर आफूलाई उठाएको यो नौलो कथा होइन। तर, सरोजले यो कथालाई भावुक शैलीले पस्किएका छन्।
प्राप्तिका बुबाले उनी सानै छँदा आत्महत्या गर्छन्। बुबाले किन आत्महत्या गरे, छोरीलाई थाहा छैन। उनले आफ्ना पिताले श्रीमतीप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गरेको पनि देखेकी छैनन्। तर आमाले मृत्यु भइसकेका श्रीमानका नाममा समाजमा भोगेको प्रताडना देखेकी छन्। उनलाई हुर्काउन आमाले भित्र–भित्रै दुखेको महसुस गरेकी छिन्। श्रीमानको मृत्युपछि पढेर सक्षम भएर जागिरमा स्थापित भएकी आमालाई एक्लोपनले भित्रभित्रै खाएको बुझेकी छिन्। त्यसैले उनी आफ्नो भन्दा पहिला आमाको विवाह गराइदिन चाहन्छिन्। ‘बगान’ आमाको बिहेका लागि एउटी छोरीले गरेको संघर्षको कथा हो।
हाम्रो समाज एकल महिलाको पुनः विवाहको सन्दर्भमा कति अनुदार छ भन्ने कुरा पनि फिल्ममा स्पष्ट रुपमा देखाइएको छ। अनुदार समाजको प्रतिनिधि पात्रका रुपमा देखिएका नीर शाह आफ्नो भूमिकामा चुस्त छन्।
पहिलो पटक फिल्ममा देखिएकी प्रमिला आफ्नो भूमिकामा ठिकठाक देखिएकी छिन्। सुरुमा डकुड्रामा भनेर निर्माण गरिएका कारण फिल्म कतिपय ठाउँमा अपुरो लाग्छ। अन्यथा सरोजले आफूलाई निर्देशकका रुपमा पनि स्थापित गर्ने कोसिस गरेका छन्। फिल्मको थोरै भूमिका देखिने आकाश श्रेष्ठ आफ्नो भूमिकामा फिट छन्। खासमा उनले समाज रुपान्तरणका लागि मानिसको भावनात्मक तह परिवर्तन हुनु जरुरी छ भन्ने सन्देश दिएका छन्। थोरै देखिएर पनि दर्शकले सम्झिने पात्र बनेका छन् उनी।
फिल्ममा आक्कलझुक्कल देखिने मिथिला शर्मा जति देखिन्छिन्, शक्तिशाली देखिन्छिन्। करिश्माले यो फिल्ममा बलियो अभिनय गरेकी छिन्। करिश्मा आफैंले यो फिल्म अभिनयका हिसाबले आफ्नो करिअरकै अब्बल भनेकी छिन्। फिल्मका कतिपय संवाद कविताका पंक्ति जस्ता सुनिन्छन्। हरेक संवादले मुटु छुन्छ, सुन्दर कविताले जसरी। केही दृश्यले दर्शकका आँखा भरिदिन्छन्।
फिल्मको प्रिमियरमा पुगेका कलाकारले पनि फिल्मको तारिफ गरेका छन्। केहीले ‘बगान’ फिल्म मात्रै नभएर एउटा क्रान्ति भनेका छन्। प्रिमियरमा पुगेकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले भनेकी छिन्, ‘बगानले जुन विषयवस्तु उठाएको छ, त्यो उठाउन मुटु चाहिन्छ। सरोज खनालले एकदमै राम्रो विषय उठाउनुभयो।’
करिश्मा आफैँ पनि आफ्नो अभिनय हेरेर पहिलो पटक आत्मसन्तुष्टि मिलेको बताएकी छन्। उनले भनेकी छिन्, ‘कलाकारलाई आफ्नो सबै काम मन पर्दैन, तर बगान हेर्दा म सन्तुष्ट भएँ।’
स्वप्निल नीरवको कथामा आधारित रही निर्माण गरिएको हो फिल्म। पहिलो पटक निर्देशकका रुपमा देखिएका खनालको फिल्ममा कमजोरीहरु पनि प्रशस्तै भेटिन्छन्।
फिल्ममा करिश्मा मानन्धर, मिथिला शर्मा, नीर शाह, प्रमिला कार्की, सरोज खनाल, लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म निर्माणमा सुरेश वाग्ले र विनोद मानन्धरले सहकार्य गरेका छन्। गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स रहेको फिल्ममा रेनिस फागोको कलर करेक्सन रहेको छ। ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुसालको संगीत रहेको फिल्मका गीत अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीले गाएका छन्। नेपाल खबरबाट ।