पहिरोले ६ परिवार विस्थापित, एक सयभन्दा बढी घर जोखिममा

पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले बस्ती जोखिममा परेको छ । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको र पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका हुन् ।
पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ । पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए ।
स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए । “पहिराको कमेरे माटो बस्तीमाथिको जङ्गलको मूलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ”, उनले भने, “आकाशबाट पानी पर्नेबित्तिकै लेदोसहितको बाढी आउँदा भागाभाग हुन्छ ।”
पहिराले जलजला–२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ । स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको बताए ।
