५२ वटा गाई एक्लै दुहुन्छिन् सरिता, हातमा छन् ठेलैठेला

सुनिता विष्ट
१२ भाद्र २०८०, १३:२१
५२ वटा गाई एक्लै दुहुन्छिन् सरिता, हातमा छन् ठेलैठेला

सुनिता विष्ट

हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीकी सरिता घलानलाई राति सुत्ने बेला नै बिहान चाँडै निद्रा नखुल्ने हाे कि भन्ने चिन्ता लाग्छ। त्यसैले उनी बिहान ३ बजे चर्को आवाजमा बज्नेगरी मोबाइलको अलार्म मिलाएर सुत्छिन्।

बिहान ब्युँझिन केही बेर मात्रै ढिला भयो भने दूध दुहुन भ्याइन्न भन्ने डरले राति पटकपटक आँखा खुल्ने गरेको सरिता सुनाउँछिन्। ‘निन्द्रा त कस्तो लाग्छ नि! के गर्नु आधा घण्टामात्रै ढिला भयो भने पनि दूध दुहुन भ्याइँदैन’, उनले भनिन्।

उमेरले ३ दशक पनि नकटेकी सरिता घलानको हातका औंलामा ठेला उठेका छन्। बूढीऔंलामा साह्रो भएर उठेका ठेला अचेल पहिलेजसरी दुख्दैनन्। चिमोटे पनि थाहा नहुनेगरी मासु मरिसकेका छन्।

गोठमा भएका ५२ वटा गाई दुहुने जिम्मेवारी २८ वर्षकी सरिता एक्लैको काँधमा छ। जुन काम भ्याउन उनी हरेक दिन बिहान ३ बजे नै उठ्छिन्। नित्यकर्म सकेर उनी सवा ३ बजेतिर दूध दुहुने बाल्टिन र दूध जम्मा गर्ने ठूलो क्यान लिएर गाईगोठमा पस्छिन्। सबै (५२ वटा) गाईको दूध दाेहिसक्न सरितालाई २ देखि ३ घण्टासम्म लाग्छ।

‘कहिले त छिट्टै भएजस्तो लाग्छ’, मुसुक्क हाँस्दै उनले भनिन्, ‘कोही बेलामा त अघिल्लो दिन गरेको कामहरुले नै थकाइ लागिरहेको हुन्छ। निन्द्राले भुल्दै दुहुन परेको बेलाचाहिँ ३ घण्टाभन्दा धेरै समय लाग्छ।’

एक खेपमा मात्रै सरिता १ सय ८० लिटरभन्दा धेरै दूध एक्लै दुहुन्छिन्।  बिहानभन्दा बेलुका दूध दुहुन केही सहज हुने सरिताको अनुभव छ। ‘उज्यालो पनि हुन्छ। त्यही भएर पनि हो कि? बेलुका भने आधा घण्टाजति कम समय लाग्ने गरेको छ’, उनी सुनाउँछिन्।

उज्यालो हुँदा नहुँदै सरिताले दूधका क्यान टन्न पारेर डेरी लान तयार बनाउँछिन्। त्यसपछि परिवारका अन्य सदस्य उठेर कोही आफ्नै डेरीतर्फ लाग्छन् त कोही गाउँमै रहेको दूग्ध संकलन केन्द्रतिर। दूध दुहुने जिम्मा सरिताकै भएजसरी नै गाईवस्तुको स्याहार गर्ने, घाँस पानी खुवाउने र गोठ सफा गर्ने जिम्मेवारी भने परिवारका सबै सदस्यको उत्तिकै छ।

संयुक्त परिवार रहेको घरकी सरिता कान्छी बुहारी हुन्। ‘घरमा सासू-सुसरा, जेठाजु-जेठानी, दिदी-भिनाजु सबै जना छन्। तर दूध दुहुन सबैजनालाई आउँदैन। अरु काम हामी सबैले गर्छौं। दूध बुहारीले नै छिटो दुहुन्छिन्। त्यही भएर दूध दुहुने काम भने उनैको जस्तै भइरहेको छ’, सरिताकी सासू सुस्मिता पाख्रिनले भनिन्। कुनै दिन सरिता बिरामी भइन् भने दूध दुहुन परिवारका सदस्य मिलेर दुहुँदा पनि ३/४ घण्टा लाग्ने सुस्मिता बताउँछिन्।

५२ वटा गाई एक्लै दुहुन्छिन् सरिता, हातमा छन् ठेलैठेला

गाई पालनले मनग्य आम्दानी
गाईपालनबाट मनग्य आम्दानी भइरहेको सरिताकी सासू सुस्मिता बताउँछिन्। ‘घरमा २/४ वटा गाईभैंसी पाल्ने चलन पहिलेदेखि नै थियो’, उनले भनिन्, ‘केही वर्षअघि हामीले अलि धेरै पाल्ने कि भनेर ६/७ वटा गाईबाट सुरु गर्‍यौँ। पछिपछि भए पनि गाउँपालिकाले पनि विभिन्न अनुदान दिएर सजिलो बनाइदिएपछि गाई थप्दाथप्दै अहिले ५२ वटा भएका छन्।’

उनका अनुसार केही दिनअघि मात्रै उनको गोठमा तीनवटा गाई लम्पी स्किन रोग लागेर मरे।  उत्पादित दूध हेटौंडा बजारमा ल्याएर सरिताको परिवारले डेरी सञ्चालन गरिरहेको छ। सरिताका ससुरा बिहान दूध लिएर बजार झर्छन्। हेटौंडा २ मनकामना चोकमा रहेको डेरीबाट उनीहरु दूध र दूधजन्य पदार्थ बिक्री गर्छन्। त्यतिमात्रै होइन, उत्पादित दूधमध्य आधा भने गाउँकै दूग्ध सहकारीमा बिक्री गर्छन्। उनको परिवारले मासिक ४ देखि ५ लाखसम्मको दूध बिक्री गर्ने गरेका छन्। त्यसबापत गाईलाई हुने खर्च कटाएर मासिक २ लाखभन्दा बढी रकम फाइदा बस्ने गरेको सुस्मिताको भनाइ छ।

उनीहरुले सञ्चालन गरेको गाई फार्मले उनीहरुको परिवारलाई मात्रै स्वरोजगार बनाएको छैन। गाउँकै दुईजनालाई रोजगारीसमेत दिइरहेका छन्।

प्रतिक्रिया
sarita