रेबिज रोग नियन्त्रणका लागि बागमती सरकार प्रतिवद्ध छ : मन्त्री श्रेष्ठ
हेटौंडा / बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले रेबिज रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकार जिम्मेवार रहेको बताएका छन् । बिहिबार कृषि तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले आयोजना गरेको विश्व रेबिज दिवस २०८० को कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रैष्ठले यस्तो बताएका हुन्।
रेबिज रोग विरुद्ध सप्ताहव्यापी मात्रै होइन, बर्षको ३६५ दिन नै यस्तो अभियानहरु जारी राख्नुपर्ने मन्त्री श्रैष्ठले बताए ।
प्रदेश स्थापना भएको ६ बर्ष पूरा भैसक्दा पनि प्रदेश सरकारसँग रेबिज रोगको एकिन तथ्यांक नहुनु दुखद् भएको बताउँदै उनले भने, ‘अबदेखि रेबिज रोगको एकिन तथ्यांक राख्न सबै सरोकारवाला निकायको ध्यान जान जरुरी छ। कुनै पनि रोग माहामारीको रुपमा फैलिएमात्रै चासो देखाउने प्रवृत्तिको हावी भयो।’ रेबिज रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत तयार गर्न सरोकारवाला निकायहरुलाई मन्त्री श्रेष्ठले निर्देशन दिए ।
यस्तै, कृषि मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले रेबिज विरुद्धको भ्याक्सिन लगाउने जनशक्तिको कमि रहेको बताए । सचिव कोइरालाले कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा रेबिज नियन्त्रणका लागि हुनसक्ने प्रमुख उपायहरु के हुन् ? यसैअनुसारको कार्ययोजना बनाएर नियन्त्रणमा लागे आउँदो २०३० सम्ममा रेबिज मुक्त प्रदेश बनाउन सकिनेमा दुईमत नरहेको बताए ।
कृषि विकास निर्देशालय बागमतीका निर्देशक तेज प्रसाद दवाडीले रेबिज नियन्त्रणका लागि तीनै तहका सरकार एक जुट भए मात्रै सम्भव हुने बताए । कुकुरको टोकाईबाट लाग्ने यो रोगका लागि मुख्य कुरा घर पालुवा कुकुरहरुलाई नै रेबिज विरुद्धको खोप प्रत्येक बर्ष लगाउन पर्ने बताउँदै दवाडीले यसक कार्यमा स्थानीय तहका सरकार सचेत हुन आवश्यक रहेको बताए ।
यस्तै, कार्यक्रमका अध्यक्षता ग्रहण गरेका पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक गौरीमान श्रेष्ठले विश्व रेबिज दिवसको अवसरमा प्रदेशमा रहेका ८ वटै भेटेरिनरी तथा पशु विज्ञ केन्द्र मार्फत सप्ताहव्यापी खोप अभियान चलाइएको जानकारी गराए । यसका साथै, बध्याकरण सँगै विभिन्न जनचेतनाको कार्यक्रमहरु समेत आयोजना गरिएको बताए।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा कृषि तथा पशुपन्छी विकास निर्देशनालयका कर्मचारीहरु, कृषि विकास निर्देशनालयका कर्मचारीहरु, कृषि मन्त्रालयका योजना तथा अनुगमन विकास महाशाखा प्रमुख सुजन कडेँल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख ब्रजकिशोर ठाकुर, दूग्ध विकास बोर्डका निर्देशक तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
रेबिज रोकथाम र यस रोगविरूद्ध सचेतना जगाउन हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिजविरुद्धको दिवसको रूपमा मनाइन्छ । यस वर्षको दिवसका लागि ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ भन्ने नारा तय गरिएको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरूद्धको पहिलो खोप विकास गरेका थिए। । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।