राक्सिराङ र कैलाश गाउँपालिकामा एकै दिन ३४ बिगाहा गाँजा फडानी
हेटौंडा / मकवानपुरको बिकट दुई गाउँपालिकामा एकै दिन ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिएको छ ।
मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–६ बान्द्राङ, सुरधुनी, नम्बर–८ को गैरीडाँडा, गढीडाँडा एरियामा २० बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
यसैगरी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–१ को धुसाहा, डाँडाखर्क, भोर्लाडाँडा, डाँडाबारी र वडा नम्बर–२ को बैकुण्ठडाँडा, जलेखु एरियामा १४ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरेर नष्ट गरिएको भण्डारीले बताए ।
मकवानपुरको बिकट गाउँमा लगाइएको गाँजा फडानी गर्नका लागि फेरी प्रहरी परिचालन गरिएको छ । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा गाँजा फडानी गर्नका लागि प्रहरी परिचालन गरिएको हो ।
कैलाश गाउँपालिकामा प्रहरी निरीक्षकको कमान्डमा ५० जना र राक्सिराङ गाउँपालिकामा प्रहरी निरीक्षकको कमाण्डमा ५० जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।