मकवानपुरगढीकै ठूलो उज्वल दुग्ध सहकारीको अध्यक्षमा हुमागाईं विजयी

पालिका डायरी
७ पुष २०८०, १९:०४

हेटौंडा / २७ वर्षको गर्विलो इतिहास बोकेको उज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति चयन भएको छ ।

मकवानपुरगढी गाउँपालिका–५, सुन्दरधामस्थित उज्वल दुग्ध सहकारीको २७ औं वार्षिक साधारणसभाले रामचन्द्र हुमागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति बनाएको छ । वैदेशिक रोजगारीबाट फर्किएर विगत लामो समयदेखि कृषि पेशामा सक्रिय हुमागाईंले शनिवार भएको निर्वाचन प्रक्रियाबाट अध्यक्षमा विजय हासिल गरेका छन् । विजयी भएसँगै मतदातालाई धन्यवाद दिँदै हुमागाईंले सहकारीको उत्थान र कृषकको पक्षमा निरन्तर खटिएर काम गर्ने प्रतिज्ञा गरे ।

नवनिर्वाचित हुमागाईं यसअघि गाउँपालिकाबाट उत्कृष्ट कृषकको रुपमा पुरस्कृतसमेत भइसकेका व्यक्ति हुन् । उनले दूध बिक्री र तरकारी उत्पादनबाट वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् । शनिवार संस्थाको भवनमा भएको निर्वाचनबाट हुमागाईंले लिलाराज बञ्जारा ९चन्द्र०लाई २५ मतान्तरले पराजित गरे । मतदानमा सहभागी ३८९ शेयर सदस्यमध्ये हुमागाईंलाई २०१ जनाको मत प्राप्त भएको निर्वाचन अधिकृत सुजन तिमल्सिनाले जानकारी दिए । बञ्जाराले १ सय ७६ मत मात्रै पाए ।

उपाध्यक्षमा बासुदेव चौलागाईं विजयी भएका छन् । चौलागाईंले २ सय ४५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी उदयनारायण घिमिरेले १३३ मत पाए । अध्यक्ष र उपाध्यक्षमा मात्रै निर्वाचन भएको थियो । कार्यसमितिको बाँकी ७ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध हुनेमा कमली खतिवडा घिमिरे, भगवती आचार्य, मिनाकुमारी लोहागुन, बेनीप्रसाद बञ्जारा, नारायणप्रसाद बञ्जारा र राजेन्द्र लम्साल रहेका छन् ।

लेखा संयोजकमा विष्णुप्रसाद दंगाल निर्विरोध निर्वाचित भए । लेखा समिति सदस्यमा देवकी न्यौपाने फुयाँल र रेणुका गिरी चयन भएका छन् । उज्वल दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी गाउँपालिकाभित्रको ठूला सहकारीमध्ये एक हो । सहकारीमा गाउँपालिकाको ३, ४, ५ र ६ नम्बर वडाका साढे ४ सय भन्दा बढी शेयर सदस्य रहेका छन् ।

सहकारीको शेयर पुँजी ९९ लाख ७० हजार २ सय रहेको छ । १ करोड २७ लाख ८७ हजार ७ सय ६० रुपैयाँ बचत रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई १ करोड ३० लाख १० हजार ४ सय २६ रुपैयाँ ऋण लगानी रहेको लेखा समितिको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले व्यापारबाट ११ करोड १५ लाख ३१ हजार ३ सय ८४ रुपैयाँ आम्दानी गर्दा १० करोड ४६ लाख ४३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको उल्लेख छ । आर्थिक वर्ष २०७९÷८० भित्र सहकारीले सबै खर्च कटाएर २८ लाख ३० हजार १ सय ७ खुद आम्दानी गरेको छ ।

प्रतिक्रिया