बकैयामा बगर खेती गर्नेलाई अनुदान

पालिका डायरी
८ पुष २०८०, १४:१६
bakaiya gaupalika

हेटौँडा/ नदी, खोला किनाराको उकास खेर गएकाे जग्गामा बगर खेती गर्ने किसानलाई अनुदान दिइने भएको छ । मकवानपुरको बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।

पालिकाको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । पालिकाले प्रति क्लस्टर (५ विघा क्षेत्रफल) मा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको छ । कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, फार्ममार्फत् एक साताभित्र दरखास्त आव्हान गरिएको छ।

अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने बकैया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताउनुभयो । आयआर्जनमा विकास गर्ने लक्ष्य सहित बगर खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले बताउनुभयो ।

“हेटौँडा बजारबाट गाउँमा आउने दैनिक उपभोग्य सामाग्री न्यूनीकरण गर्दै जान्छौं, अब बिस्तारै गाउँबाट सहरमा तरकारी पठाउँने लक्ष्यका साथ काम गरेका छौं,” गाउँपालिका उपाध्यक्ष खत्रीले भन्नुभयो ।

हिउँदमा खेर गईरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सकिने बकैया गाउँपालिका आर्थिक विकास शाखा प्रमुख अशोक कुमार सिंहले बताउनुभयो । “बगरको जग्गा उपयोग पनि गर्न सकियो, त्यहाँबाट उत्पादन भएको तरकारी फलफूलमार्फत् किसानलाई आयआर्जन पनि हुनेभयो,” आर्थिक विकास शाखा प्रमुख सिंहले भन्नुभयो । १२ वटा वडा रहेको बकैयामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास रहेको छ । गोर्खापत्रबाट ।

प्रतिक्रिया