हेटौंडा–१७ मा बालमैत्री स्थानीय शासनका सूचक मापन र पञ्चवर्षीय योजना कार्यशाला सम्पन्न
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १७ मा बालमैत्री स्थानीय शासनका सूचक मापन र पञ्चवर्षीय लगानी योजना तयारी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। १७ नम्बरका वडा अध्यक्ष उद्धव सत्यालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका विकास महाशाखा प्रमुख एवं निर्देशक विष्णु कुमारी लामिछानेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा वडाका बालमैत्री सम्पर्क व्यक्तिसहित सबै जन प्रतिनिधि, वडा सचिव सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्वास्थ्य संस्था प्रमुख एवम् स्वस्थ स्वयंसेविकाहरु, स्थानीय प्रहरी, बाल समूह सञ्जालका प्रतिनिधिहरू, विभिन्न टोल विकासका अध्यक्ष लगायत अन्य प्रतिनिधिहरू सहित नगर र वडा सहजकर्ता तथा महिला, बाल बालिका शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।
हेटौंडा उपमहानगरपालिकाले मङ्सिर मसान्त २०८० सम्ममा सम्पूर्ण वडाहरु सहित नगर समेत बाल मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्य सहित विभिन्न क्रियाकलापहरु अगाडि बढाइरहेको सन्दर्भमा हाल सबै वडाहरुमा सूचक मापन र लगानी योजना निर्माण कार्य सञ्चालन गर्दै गरेकोमा वडा न ८ मा ३२ सूचक वडा न २ मा २८ सूचक वडा न १८ मा २९ र आजको कार्यशाला पश्चात् वडा न १७ मा ३० सूचक पूरा भएको र पूरा भएका सूचकको दिगोपना तथा बॉकी सूचक प्राप्तिका लागि आवश्यक कामकारबाही सहितको लगानी योजना निर्माण समेत सम्पन्न भएको छ। वडा अध्यक्षले बालमैत्री अभियानलाई आज गरेको सूचक विश्लेषण ले थप सहज बनाउने भन्दै बाँकी सूचक पूरा गर्न सबैले सकारात्मक पहल गरिदिन अनुरोध समेत गर्नुभयो ।