त्रिभुवन विमानस्थलमा अध्यागमनका अधिकृतलाई प्रहरीद्वारा हातपात

पालिका डायरी
१२ माघ २०८०, १६:४४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि शुक्रबार प्रहरीले हातपात गरेको आरोप लागेको छ। शुक्रबार बिहान ड्युटी सकेर फर्कने क्रममा अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विमानस्थलमा कार्यरत कर्मचारीहरुले बताए।

शुक्रबारको ड्युटी सकेर फर्कँदा नियमित जाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले प्रहरीलाई नै दुर्वचन लगाएपछि प्रहरी आक्रोशित भएर हातपातमा उत्रिएको स्रोतले बताएको छ।विमानस्थल प्रहरीका प्रवक्ता एसएसपी दीपशमशेर रानाले प्रहरीलाई अध्यागमन कर्मचारीले दुर्व्यवहार गर्दा सामान्य धकेलाधकेलको अवस्था सिर्जना भएको देशसञ्चारसँग बताए।

अध्यागमन अधिकृत छायाबहादुर मोक्तानमाथि प्रहरीले हातपात गरेको स्रोतले बताएको छ। विमानस्थल स्रोतका अनुसार पछिल्लो ट्राभल एड्भाइजरीपछि अध्यागमनका कर्मचारीहरु प्रहरीसँग रुष्ट बनेका छन्। ‘अध्यागमन अधिकृत मोक्तानले ड्युटीमा रहेका प्रहरीलाई दुर्वचन बोलेका थिए,’ स्रोतले भन्यो।

प्रहरी र अध्यागमन कर्मचारीबीच तिक्तताको अवस्था सिर्जना भएपछि दुवै पक्षबीच छलफल गराइएको एक प्रहरी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया
tribhuwan airport