किसानलाई आधुनिक प्रविधिमा जोड्दै स्थानीय सरकार

राज कुमार के.सी.
३ फाल्गुन २०८०, १८:०७

थाहानगर / थाहा नगरपालिका वडा नं. ३ को कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत टनेल निर्माणका साथै मिनिटिलर र इलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात् वडाका किसानहरू खुसी भएका छन् । 

थाहा नगरपालिका वडा नं.भोटखोरियाका कृषक नरेश कार्की टनेलमा तरकारी बालीको बिरुवा उत्पादन गर्न निकै सहज भएको बताउँछन् । कार्कीले खुल्ला ठाँउमा बिउ राख्दा उमारमा समस्या, उम्रे पनि जोगाउन हम्मे हम्मे हुने बताए ।

खुल्ला ठाँउमा तरकारी बालीको बिउ राख्न भन्दा टनेलमा निकै सहज हुने अर्का कृषक प्रदिप उप्रेती बताउँछन् । समयको बचतसँगै बिउको उमार र हुकाईका लागि टनेल निकै उपयोगी हुने उप्रेती बताउँछन् ।

तरकारीको बिरुवा उत्पादन गर्नका साथै १२ महिना नै तरकारी उत्पादन हुने भएकोले टनेल निकै प्रभावकारी हुने कृषक दीपक बिष्टले बताए। बिष्टले वडाका कृषकहरूलाई टनेल निर्माण लगायतका कृषि सामग्री सहयोग गरेकोमा वडा कार्यालय र जनप्रतिनिधिहरूलाई धन्यवाद दिए ।

वडा कार्यालयले ७२ बर्ग मिटरको टनेल निर्माणका लागि आवश्यक बाँस र प्लास्टिक निशुल्क उपलब्ध गराएको छ भने कृषकले निर्माण र अन्य खर्च गर्नुपर्ने हुन्छ । एउटा टनेल निर्माणको लागि आवश्यक पर्ने २० वटा बाँस र टनेललाई प्लास्टिक वडा कार्यालयले उपलब्ध गराउने वडा सदस्य सविता सुनारले बताइन् ।

एक घर एक टनेल को अवधारणा अन्तरगत वडाका कृषकहरुलाई तरकारीको बिउ उत्पादनमा आत्मनिर्भर बनाउन टनेल निर्माणका लागि कृषकहरुलाई प्रोत्साहन गरिएको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको भनाई छ । ।

१ हजार ४६ घरधुरी रहेको वडा नं. ३ मा कृषकहरुको मागको आधारमा गत वर्ष ४५ वटा टनेल निर्माणको लागि वडा कार्यालयले सहयोग गरेको थियो भने यसवर्ष ९० वटा टनेल निर्माणको लागि सहयोग गरेको छ । 

वडाको मुख्य पेशा कृषि भएकोले कृषिमा युवाहरुलाई आकर्षित गरी व्यवसायिक बनाउनको लागि टनेल निर्माणका लागि सहयोग गरिएको र आगामी वर्षमा समेत टनेल निर्माणका लागि सहयोग गरिने अध्यक्ष रायमाझीले बताए।

कृषि पेशालाई प्रविधिमैत्री बनाउन यस वर्ष कृषकको मागको आधारमा ५० प्रतिशत लागत साझेदारीमा ७३ वटा इलेक्ट्रिक स्प्रेयर पम्प र २१ वटा मिनिटिलर पनि बितरण गरिएको अध्यक्ष रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया