अग्नी पीडितलाई पालुङ जेसीजको नगद सहयोग

राज कुमार के.सी.
३० फाल्गुन २०८०, २१:१९
अग्नी पीडितलाई पालुङ जेसीजको नगद सहयोग

थाहा नगर / थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडित सुरेन्द्र लामालाई बुधबार पालुङ जेसीजले आर्थिक सहयोग गरेको छ ।

जेसीजले नगद ३२ हजार १ सय ७५ रुपियाँ घटनास्थलमै पुगेर सहयोग प्रदान गरेको हो । तत्कालको आवश्यकता पूरा गर्नको लागि सहयोग स्वरुप आर्थिक सहयोग गरिएको पालुङ जेसीज बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष मानसिं दोङले बताइनुभयो ।

मानबताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज आस्थालाई आत्मसाथ गर्दै आग्नी पीडित लामालाई सहयोग गरिएको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताउनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिका ११ नम्बर वडा अध्यक्ष दिनेश बलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षद्वय सुरेन्द्रमान प्रधान, नवराज लामा, कानुनी सल्लाहकार सुबिन्द्रमान प्रधान, महासचिव बिक्रम गोपाली, कोषाध्यक्ष संजय गोपाली लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भई आगजनी हुँदा घर र सम्पूर्ण सामान जलेर पूर्ण रुपले नष्ट भएको थियो । यसैबिच बुधबार नै थाहानगरका युवा ब्यवशायी तथा पालुङ जेसीज बर्ष २०२४ का कानुनी सल्लाहकार सुबिन्द्रमान प्रधानले अग्नी पीडित लामालाई नगद १० हजार सहयोग गर्नुभएको छ ।

पीडितको घर पुगेर थाहा नगरपालिका ४ थानाबजारस्थित खुसी एन्ड समृद्धि मोवाइल हाउसका सञ्चालक प्रधानले नगद १० हजार रुपियाँ सहयोग गर्नु भएको हो ।

प्रतिक्रिया