मनहरीमा छिमेकीको कुटपिटबाट एक महिला गम्भीर घाइते
हेटौंडा / मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा छिमेकीको कुटपिटबाट एक महिला घाईते भएकी छिन् ।
हिजो मंगलबार ५० वर्षकी मंगली माया थिङलाई उनकै छिमेकी टेक बहादुर राईको छोरा अन्दाजी २७ वर्षीय रोजन राईले जग्गाको साँधको विषयलाई लिएर विवाद हुँदा उनीमाथि कुटपिट गरी घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।
कुटपिटबाट घाइते भएकी थिङलाई उपचारका लागि मनहरी अस्पतालमा ल्याइएको थियो । त्यहाँ सामान्य उपचार पछि अवस्था गम्भीर रहेकोले थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ। घाइतेको ओठ काटिएको तथा शरीरको भित्री भागमा चोट लागेको जनाइएको छ ।
कुटपिट गर्ने व्यक्ति रोजन राई भने अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया