दुई महिनादेखि बेपत्ता गोविन्दको टाउको लिएर जब कुकुर गाउँमा आयो…

पालिका डायरी
२७ चैत्र २०८०, १४:४०
दुई महिनादेखि बेपत्ता गोविन्दको टाउको लिएर जब कुकुर गाउँमा आयो...

मकवानपुरको राक्सिराङ गाउँपालिका- ३ लावतीका २५ बर्षीया गोविन्द प्रजा हराएको झण्डै दुई महिना पुग्नै लागेको थियो ।

माघको अन्तिमदेखि परिवारको सम्पर्कमा नरहेका राक्सिराङ ३ लावतीका माइला प्रजाका माइला छोरा गोविन्द हराएको हल्ला गाउँभरि नै फैलिएको थियो ।

अत्याधिक मदिरा सेवन गर्ने गोविन्दको खोजीमा उनका बुवा-आमाले धेरै प्रयास गरेका थिए। उनी कतै फेला परेका थिएनन् । तर, तिनै गोविन्दको शवको टाउको आज (मंगलबार) बिहान कुकुरले गाउँमा ल्याएपछि विभिन्न शंका उत्पन्न भएको छ ।

गाउँमै डुल्ने एउटा कुकुरले आज बिहान मान्छेको टाउको ल्याएर खेलाइरहेको अवस्थामा भेटिएको हो। राक्सिराङ- ३ का वडाध्यक्ष उत्तम वाइबाले उक्त टाउको मृतक गोविन्दकै भएको दाबी गरे। वडाध्यक्ष वाइबाका अनुसार गोविन्दका बाबु माइलाले पनि उक्त टाउको आफ्नै छोराको भएकाे पुष्टि गरे ।

बेपत्ता गोविन्दको टाउको लिएर कुकुर गाउँमा आएपछि आफन्त र स्थानीयले बाँकी शरीरको खोजी सुरु गरेका थिए । शरीरको भाग खोज्दै जाँदा गाउँबाट झण्डै एक किलोमिटर पर गुफादेबी सामुदायिक वन क्षेत्रमा गोविन्दको शरीरकाे बाँकी भाग पनि फेला परेको वडाध्यक्ष वाइबाले बताए ।

घटना बारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख दीपक थापाको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थल पुगेको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया