कैलाशमा डेढ सय किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम

पालिका डायरी
४ असार २०८१, १९:३५

मकवानपुरको विकट कैलाश गाउँपालिकाका एक सय ५० जना किशोरीहरुलाई किशोरी सुरक्षा तथा आत्मरक्षा सीपहरु सम्बन्धी तालिम प्रदान गरिएको छ । मंगलबार किडपावर नेपालको सहयोगमा गाउँपालिकाले किशोरीहरुलाई सुरक्षा तथा आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको हो ।

कैलाश गाउँपालिका ३ कालिकाटारको भवानी माध्यामिक विद्यालयका कक्षा ८, ९ र १०मा अध्ययनरत ५० जना छात्राहरुलाई लक्षित गरी उक्त तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताउनुभयो । उहाँले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी बजेट अधिवेशनमा नीति तथा कार्यक्रममा समट्दै गाउँपालिकाभित्रका सबै छात्राहरुलाई उक्त तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भविष्यमा यौनजन्य हिंसा मात्रै नभई अन्य घरेलु हिंसाबाट बच्नका लागि यी तालिमले छात्राहरुलाई थप सहजता हुने र आत्मसुरक्षा रहन सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘हामी पहिलो चरणमा दुई विद्यालयमा गर्ने छौं भने आगामी वर्षमा भने सबै विद्यालयका किशोरीलाई तालिम दिइने छौं, अध्यक्ष मोक्तानले भन्नुभयो ।’

तालिमलाई राष्ट्रिय बाल अधिकार परिषद् नेपालका सदस्य समेत रहनुभएका किडपावर नेपालका अध्यक्ष सुष्मा पोखरेलले सुरक्षा र आत्मरक्षा सम्बन्धी सीप र ज्ञानबारे तालिम प्रदान गर्नुभएको थियो । उहाँले छात्राहरुलाई धम्की दुव्र्यवहार लगायत हिंसाबाट रोक्न यस्ता तालिम ग्रामीण क्षेत्रमा आवश्यक रहेको बताउनुभयो । तालिम पश्चात किशोरीहरुलाई विद्यालयमा पठनपाठन देखी समूदायमा समेत सुरक्षित र सहजता रहने बताउनुभयो ।

तालिममा गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । आजै वडा नम्बर ९ मा अवस्थित कालिका उच्च माध्यामिक विद्यालयका थप एक सय जना छात्राहरुलाई पनि उक्त तालिम प्रदान गरिएको थियो । तालिम पश्चात किशोरीहरुले आत्मरक्षाका लागि यस्ता तालिमले सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए । बुधबार कैलाश गाउँपालिका १० मा रहेको रत्नज्योति माध्यामिक विद्यालयमा अध्ययनरत ६० जना छात्राहरुलाई उक्त तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

सिधाखबर बाट ।

प्रतिक्रिया