नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सधैं तयार छ : मन्त्री श्रेष्ठ

पालिका डायरी
१४ असार २०८१, २१:५९

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न प्रदेश सरकार सधैं तयार रहेको बताएका छन् । शुक्रबार हेटौंडामा नेपाली जुत्ताघरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

अभियान स्वरुप युवा र महिलालाई उद्यमशिलताको तालिम गर्ने र उद्यमका लागि सहुलियत कर्जालाई सहज वातावरण बनाउन प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको मन्त्री श्रेष्ठले बताए । स्वदेशी उत्पादन प्रयोग गर्न सबै क्षेत्रलाई आग्रह गर्दै मन्त्री श्रेष्ठले भने, ‘रोजगारमूलक कार्यक्रम ल्याई र उत्पादित वस्तु बिक्री नहुने समस्याको समाधान गर्न सरकार उद्यमीको साथमा रहने छ ।’
चीन र भारतबाट आउने जुत्ताचप्पलले गर्दा नेपालमा बनेका उत्पादित जुत्ताचप्पलले बजार नपाउने गरेको बताउँदै मन्त्री श्रेष्ठले स्वदेशी ब्राण्डलाई प्रयोग गर्नुपर्ने बताए । प्रदेशको औद्योगिक ग्राममा जुत्ताचप्पल उद्योग सञ्चालन गर्न प्रेरित गरिने मन्त्री श्रेष्ठको भनाइ थियो ।

नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नानीराज घिमिरे, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीप्रसाद शर्मा, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसनका उपाध्यक्ष जीवन श्रेष्ठलगायतले आफ्ना भनाई राखेका थिए ।

हेटौँडा १ राप्तिरोडमा नेपाली जुत्ताघर हेटौँडाको नाममा सोरुम सञ्चालन गरिएको हो । देशको ठुला शहरहरुमा नेपाली जुत्ताघर सञ्चालनमा ल्याउने क्रममा आजबाट हेटौँडामा पनि सुरु गरिएको नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उक्त सोरुममा विएफ डियरहिल सुज, रन सुज, स्मार्ट सुज, क्रसरोड सुज, गोल्डस्टार, ब्लाक हर्स, फस्ट वाल्क सुज, सांग्रीला सुजका ब्राण्डका जुत्ता चप्पल पाइने अध्यक्ष उपाध्यायले बताए ।

नेपाली उत्पादनलाई नेपालभरका साथ विश्वभर फैलाउन देशको विभिन्न शहरहरुमा नेपाली जुत्ताघरको सोरुम सञ्चालन गरिएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया
IMG_5370