मकवानपुरको एसइई नतिजा : एकजनाको ४ जीपीए, १६ विद्यालय शून्य (विवरण सहित)

पालिका डायरी
१५ असार २०८१, ०७:५८

हेटौंडा / बिहीबार एसइईको नतिजा सार्वजनिक भयो। नजिता अघिल्ला बर्षहरुमा भन्दा निकै खस्कियो। परिक्षामा सहभागी विद्यार्थीमध्ये ५२ प्रतिशत विद्यार्थी अनुतीर्ण भए । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको परीक्षाफलमा ४७.८७ प्रतिशत अर्थात् दुई लाख २२ हजार ४७२ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन्। ५२.१३ प्रतिशत अर्थात दुई लाख ४२ हजार ३१३ परीक्षार्थी फेल भए । देशभरकै यस्तो अवस्थाको परिक्षाफल आएको अवस्थामा मकवानपुरका केही विद्यालयको एसईई नतिजा शून्य भएको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरमा सामुदायिक विद्यालयतर्फको नतिजा अझ खस्किएको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको तथ्यांक अनुसार जम्मा ३६.४७ विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

मकवानपुर जिल्लाबाट गत वर्षको एसइईमा सहभागी ५ हजार ७ सय ५२ जना विद्यार्थीमध्ये २ हजार ९८ जना मात्रै उत्तीर्ण भएका हुन्। जिल्लाका तीन हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका भएका हुन्। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका इकाइ प्रमुख दिनानाथ गौतमका अनुसार जिल्लाबाट जिपिए ३.६ देखि ४ सम्म हासिल गर्ने २५८ जना, जिपिए ३.२ देखि ३.६ हासिल गर्ने ५९२ जना रहेका छन् । यस्तै, जिपिए २.८ देखि ३.२ हासिल गर्ने ७६५ जना, जिपिए २.४ देखि २.८ हासिल गर्ने ४५१ जना र जिपिए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेका छन् ।

मकवानपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिए ल्याउने एक्ली छात्रा बनेकी छिन् रितिका छत्कुली। ४ जिपिए हासिल गरेकी हुन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार उनी जिल्लाबाट परीक्षामा सहभागी पाँच हजार सात सय ५२ जनामध्ये उत्कृष्ट हुन सफल भएकी हुन् । हेटौंडा उपमहानगरपालिका– २ मा रहेको बालजागृति इंग्लिस सेकेन्डरी स्कुल हेटौंडाकी छात्रा रितिका छत्कुली एसइई परीक्षामा ४ जिपिए ल्याएसँगै मकवानपुर जिल्ला प्रथम भएकी हुन् ।
त्यसोत, मकवानपुरको थाहा नगरपालिका बाहेक अन्य ९ वटा स्थानीय तहका १६ विद्यालयहरुको नतिजा शून्य आएको तथ्यांक छ । सामुदायिक र संस्थागत गरी १९ वटा माध्यामिक विद्यालय रहेको थाहाका कुनै पनि विद्यालयको एसइई नतिजा शून्य आएको छैन। नगरपालिकाका शिक्षा शाखा अधिकृत सूर्य बहादुर थिङले जानकारी दिए । उनका अनुसार सन्तोषजनक नतिजा नभए पनि कुनै विद्यालयको शून्य अवस्था भने छैन ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका ५ मा रहेको कालिदेवी माध्यामिक विद्यालयमा कुल ११ जना विद्यार्थी एसइई परिक्षामा सहभागी भएकोमा एकजना पनि उर्तीण नभएका हुन् । ६ वटा माध्यामिक विद्यालय रहेको इन्द्रसरोवर गाउँपालिकामा ८४ जना विद्यार्थी एसइई परिक्षामा सहभागी भएकोमा १४ जना मात्रै उतीर्ण भएका हुन् ।
यता, मकवानपुरकै मकवानपुरगढी गाउँपालिकाको दुईवटा विद्यालयको नतिजा शून्य छ । गाउँपालिकामा १० वटा माध्यामिक विद्यालय रहेकोमा २ वटा विद्यालयका नतिजा शून्य आएको हो । ३३ जना विद्यार्थी एसइई परिक्षामा सहभागी रहेको वंशगोपाल माध्यामिक विद्यालय र २७ जना विद्यार्थी परिक्षामा सहभागी भएका रानीसेरा माध्यामिक विद्यालयका एकजना विद्यार्थी पनि उतीर्ण नभएका हुन् । यस गाउँपालिकाबाट कुल ३ सय जना विद्यार्थी एसइई परिक्षामा सहभागी रहेकोमा ४६ विद्यार्थी मात्रै उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम घलानले जानकारी दिए ।

भीमफेदी गाउँपालिकामा ८ वटा माध्यामिक विद्यालय रहेकोमा २ वटा विद्यालयका एकजना पनि विद्यार्थी उर्तीण भएका छैनन् । उनीहरुको एसइर्य नतिजा निल आएको हो। भीमफेदी ८ मा रहेको माध्यामिक विद्यालय कोगटे र लेकाली बेसीफाँट माविको नतिजा शून्य आएको हो । माध्यामिक विद्यालय कोगटेमा ८ जना विद्यार्थी एसइई परिक्षामा सहभागी थिए भने लेकाली बेसीफाँट माविबाट २२ जना विद्यार्थी सहभागी थिए । बाँकी अन्य विद्यालयहरुको नतिजा पनि सन्तोषजनक छैन। कुल २ सय १४ जना विद्यार्थीले एसइई परिक्षा दिइएकोमा २१ जनाले मात्रै कक्षा ११ पढ्न पाउने भएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत चक्र साउदले बताए ।

यता, ११ वटा माध्यामिक विद्यालय रहेको मनहरी गाउँपालिकामा ३ वटा विद्यालयको एसइई नतिजा शून्य आएको छ । ८ वटा सामुदायिक र ३ वटा प्राइभेट विद्यालय रहेकोमा सामुदायिक विद्यालयको नतिजा शुन्य आएको हो। पशुपती मावि, महेन्द्र ज्योती मावि र सीता माविबाट एकजना पनि विद्यार्थी पास नभएका हुन् । गाउँपालिकाभरबाट कुल ४ सय ७३ विद्यार्थी एसइई परिक्षामा सहभागी रहेकोमा १ सय १३ जनामात्रै उत्तीर्ण भएको मनहरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत प्रदिप पराजुलीले जानकारी दिए ।
यस्तै, राक्सिराङ गाउँपालिकामा पनि एउटा विद्यालयको एसइईको नतिजामा शून्य आएको छ । राक्सिराङ ४ मा रहेको कालिका माध्यामिक विद्यालयको नतिजा शून्य आएको हो । उक्त विद्यालयबाट १० जना विद्यार्थी एसइई परिक्षामा सहभागी रहेका थिए । कुल ५ वटा माध्यामिक विद्यालय रहेको यस गाउँपालिकामा २ सय ३४ जना विद्यार्थी परिक्षामा सहभागी रहेकोमा २३ जनाले मात्रै कक्षा ११ पढ्न पाउने भएका हुन् ।

कुल ११ वटा माध्यामिक विद्यालय रहेको बकैया गाउँपालिकामा २ वटा विद्यालयका एकजना विद्यार्थी पनि उत्तीर्ण भएका छैनन् । कुल ४ सय ४ विद्यार्थीले एसइईको परिक्षा दिएकोमा ५२ जनामात्रै उत्तीर्ण भएका हुन्। बकैया ८ स्थित जनजागृती माविबाट २६ जना विद्यार्थी र बकैया १० मा रहेको प्रसिद्ध माविबाट १३ विद्यार्थीले एसइई दिएकोमा एकजना पनि उत्तीर्ण भएका छैनन् । गाउँपालिकाका शिक्षा शाखा अधिकृत आइतराम तामाङका अनुसार यी मध्ये जनजागृती माविका कुनै विद्यार्थी पनि ग्रेडबृद्धिमा सहभागी हुन नपाउने भएका छन् भने प्रसिद्ध माविबाट ५ विद्यार्थी ग्रेटबृद्धिमा सहभागी हुन पाउने भएका छन् ।

त्यसोत, बागमती गाउँपालिकाबाट ३ सय ३९ जना विद्यार्थी एसइई परिक्षामा सहभागी भएकोमा २७ जनाले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । ५ वटा माध्यमिक विद्यालय रहेको यस गाउँपालिकामा २ वटा विद्यालयका एकजना विद्यार्थी पनि कक्षा ११ मा भर्ना हुन योग्य भएनन् । बागमती माविबाट ६३ र बाघ भैरव माविबाट १० जना सहभागी परीक्षार्थी मध्ये एकजना पनि उत्तीर्ण नभएका हुन् ।

कैलाश गाउँपालिकाको पनि २ वटा विद्यालयका एकजना परिक्षार्थी पनि पास भएका छैनन् । ६ वटा माध्यामिक विद्यालयबाट एसइई परिक्षामा सहभागी भएका कुल १ सय ९९ विद्यार्थीमध्ये ११ जनामात्रै उत्तीर्ण भएका हुन् । कैलाश १० मा रहेको रत्नज्योती माविबाट २४ जना परिक्षार्थी र कमलादेवी माविबाट २६ परिक्षार्थी एसइई परिक्षामा सहभागी भएकोमा सबै विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।

यता, हेटौंडा उपमहानगरपालिकामा रहेका ५४ सामुदायिक विद्यालयमध्ये एउटा विद्यालयको नतिजा शून्य रहेको छ । हेटौंडा १८ हटियामा रहेको त्रिभुवन माविका सबै परिक्षार्थी अनुत्तीर्ण भएका हुन् ।

प्रतिक्रिया