जंगली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी, १ को अवस्था गम्भीर
मकवानपुरमा एकै परिवारका ७ जना जंगली च्याउकाे तरकारी पकाएर खाँदा बिरामी परेका छन् । बिरामीमध्ये एक जनाकाे अवस्था गम्भीर छ ।
बुधबार साँझको खानामा जंगली च्याउकाे तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका- ६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षकी पासाङ स्याङ्तान र ७ वर्षका छोरा लासाङ स्याङ्तान बिरामी परेका हुन् ।
त्यसैगरी बुद्धिबहादुरका दाजु बुद्ध स्याङ्तानकी १९ वर्षकी छोरी लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान पनि च्याउको तरकारी खाएर बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवंम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
बुद्धिबहादुरका छोरा लासाङको अवस्था भने गम्भीर छ। बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएकाे छ । बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ । अन्य बिरामीको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।
पछिल्लो समय मकवानपुरमा जंगली च्याउ खाँदा बिरामी हुनेको संख्या बढेको छ । बुधबार ७ जना बिरामी थपिएसँगै असार लागेयता मकवानपुरमा च्याउ खाएरै २८ जना बिरामी भएका छन् भने तीनजनाको मृत्यु समेत भैसकेको छ।