उद्योग मन्त्री श्रेष्ठद्वारा हेटौंडा सिमेन्ट उद्योगको अनुगमन
हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले बिहिवार हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधारका लागि संघीय सरकारसँग पहल गरी प्रदेश सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्ने बताएका छन् । उनले पछिल्लो समयमा धराशायी बन्दै गएको उक्त सिमेन्ट उद्योगको पुन जागरणका लागि संघीय सरकारसँग पहल गर्ने बताएका हुन् ।
हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अनुगमन गर्दै मन्त्री श्रेष्ठले उत्पादन र रोजगारी सृजना गर्न उद्योग पूर्णरुपमा सञ्चालन गर्नुपर्ने त्यसका लागि आफुले संघीय सरकारसंग समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।
उनले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक वसन्त पाण्डे र हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारी संग उद्योगको हालकाो अवस्था र पूर्ण रुपमा सञ्चालन गर्न सक्ने सम्भावनाका विषयमा चासो राखेका थिए । साथै अध्यक्ष भण्डारीले हाल उद्योगको अवस्था र उत्पादन र बजारको अवस्था लगायतका विविध विषयमा जानकारी गराएका थिए ।