सरकालाई दिएको समर्थन फिर्ता लिदैँ बागमती सरकारबाट बाहिरियो एमाले

पालिका डायरी
२४ असार २०८१, ११:४४

हेटौंडा /  बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज (सोमबार) प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको  हो ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै एमालेका मन्त्रीहरुले सरकार छोडेका हुन् । यससँगै नेकपा माओवादी नेतृत्वको बागमती सरकार अल्पमतमा परेको छ । वर्तमान सरकारलाई अल्पमतमा पारेर सत्ता हत्याउनका लागि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । अब बागमतीमा केन्द्रकै ढाँचामा एमाले र कांग्रेसको सत्ता गठबन्धनको सरकार बन्छ ।

यता, सरकारबाट एमाले बाहिरिए पछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सदनमा विश्वासको मत फेस गर्ने बताए । एमालेका मन्त्रीहरुको राजीनामा बुझ्दै मुख्यमन्त्री जम्मकट्टेलले सँगैको सहयात्रा सहज भएको र आगामी दिनका लागि यो यात्रा टुट्नु दुखद् भएपनि राजनीतिमा आएको उथलपुथललाई स्वीकार्नुको विकल्प नभएको बताए । साथै उनले केही दिनमा नै सदनमा विश्वासको मत माग्ने समेत बताए ।

बागमती प्रदेश सरकारमा ५ जना मन्त्री थिए। आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठ, स्वाथ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातारण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ सरकारमा सहभागी थिए ।

२० चैत २०८० मा मन्त्री नियुक्त भएका एमालेका मन्त्रीहरुले राजनीतिक सत्ता समीकरण बदलिएसँगै सरकारबाट बाहिरिएका हुन् । अर्थमन्त्री थपलिया भने दुईदिन अघि अर्थात चैत १७ गते नियुक्त भएका थिए ।

प्रतिक्रिया