दोधारमा मुख्यमन्त्री जम्कट्टेल, राजीनामा कि संसदको सामना ?

पालिका डायरी
२७ असार २०८१, १०:४५
मुख्यमन्त्री जम्कट्टेलको काँधमा ७ मन्त्रालयको जिम्मेवारी

प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल राजीनामाको मनःस्थितिमा पुगिसकेका छन् ।

संसदबाट आफूलाई बहुमत पुग्दैन भन्ने थाहा पाएका उनी विश्वासको मत लिनुको औचित्य छैन भन्ने निचोडमा छन् । तर, उनी तत्काल राजीनामा दिन पनि सकिरहेका छैनन् । कम्तीमा संघीय संसदमा प्रधानमन्त्रीको अवस्था छिनोछानो होस् भनेर उनी पर्खिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदबाट असार २८ गते विश्वासको मत लिँदै छन् । शीर्ष नेताको निर्देशनका कारण जम्कट्टेल सदनमा विश्वासको मत लिने बताउँदै आएका छन् । गत आइतबार केन्द्रीय पार्टी कार्यालयमा शीर्ष तहका नेताहरूसँगको छलफलका क्रममा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत फेस गर्न निर्देशन दिइएको थियो ।

‘हाम्रो पक्षको अंकगणित बलियो छैन भन्ने थाहा छ । पार्टीले दिएको निर्देशन मान्नै पर्यो,’ जम्कट्टेलले हाँस्दै भने, ‘केन्द्रमा पनि प्रधानमन्त्रीज्यूले विश्वासको मतको फेस गर्दै हुनुहुन्छ । मलाई पनि यस्तै परिबन्ध आइपरेको छ । मत नपाए पनि प्रक्रियामा सहभागी हुनू भन्ने छ ।’

मुख्यमन्त्री जम्कट्टेललाई चौथोपटक सदनमा विश्वासको मतको प्रस्ताव दर्ता गराउने चाहना छैन । यसअघि जस्तो सजिलै विश्वास प्राप्त नहुने भएकाले उनी सदनमा जानुभन्दा राजीनामा दिनु उचित देखिरहेका छन् । स्रोतका अनुसार, शीर्ष नेता सहमत भए उनी तत्काल राजीनामा दिने मनःस्थितिमा छन् ।

ठूला दल कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनेपछि बागमती सरकार ढल्ने निश्चित छ । ‘यसअघि सजिलै विश्वासको मत पाएर सत्ता हाँकिरहेका जम्कट्टेल नेतृत्वको सरकार ढल्ने कुरामा दुईमत छैन, त्यसैले उहाँ यतिबेला विश्वासको मतका लागि लबिइङ गर्नेभन्दा पनि राजीनामा दिने वातावरण निर्माण गर्न जुटिरहनुभएको छ’, उनीनिकट स्रोतले भन्यो ।

यसअघि उनले सदनबाट तीनपटक विश्वासको मत लिएर सत्ता जोगाएका थिए । जम्कट्टेलले २०७९ माघ ३ गते पहिलोपटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि पुनः सोही वर्ष चैत १० गते दोस्रोपटक सभामा विश्वासको मत मागेका थिए । तेस्रोपटक १९ चैत २०८० मा विश्वासको मत पाएका थिए ।

७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा माओवादी तेस्रो स्थानमा छ । ३७ सिटसहित नेपाली कांग्रेस पहिलो र २७ सिटसहित नेकपा एमाले दोस्रो स्थानमा हुँदा माओवादीसँग २१ सिट मात्र छन् ।

यस्तै, प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १२ (सभामुख बाहेक), एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

सरकार जोगाउनका ५६ सांसदको समर्थन आवश्यक हुन्छ । तर दुई ठूला दलमध्ये कोही साथमा नभएपछि जम्कट्टेल नेतृत्वको सरकार ढल्नेमा दुईमत छैन ।

प्रतिक्रिया