हेटौंडामा आयोजना हुँदै सातौं कोरा साइकल र्‍याली

पालिका डायरी
२ श्रावण २०८१, २१:३३

हेटौंडा / हेटौंडा राइडर्स क्लबले आगामी शनिबार मकवानपुरको हेटौंडामा सातौं कोरा साइकल र्‍याली आयोजना गर्दैछ। ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ आयोजित यस कार्यक्रमको उद्देश्य शहरलाई साइकलमैत्री बनाउनुका साथै स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धन गर्नु रहेको छ।

क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार, यस ५० किलोमिटर लामो यात्रामा चितवन, बारा, पर्सा र काठमाडौंबाट २५० भन्दा बढी साइकल यात्रीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। १२ वर्षभन्दा माथिका सबै उमेर समूहका महिला र पुरुषहरूले यसमा भाग लिन सक्नेछन्।

र्‍याली भुटनदेवी मन्दिरबाट सुरु भई हेटौंडाका विभिन्न स्थानहरू जस्तै जलेश्वर महादेव मन्दिर, शिखरकटेरी, सालकपार्क, हर्नामाडी, र बुद्ध चोक हुँदै राइडर्स चोकमा समापन हुनेछ। सहभागीहरूलाई निःशुल्क जर्सी प्रदान गरिनेछ र कार्यक्रमको लागि अनुमानित ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएका छन्।

हालसम्म २०० जनाले नाम दर्ता गराइसकेका छन्, र यस कार्यक्रमले स्थानीय समुदाय र पर्यटन क्षेत्रलाई बढावा दिने आशा गरिएको छ।

प्रतिक्रिया