एमाले बागमती : नयाँ अनुहारलाई प्राथमिकता यी हुन् सम्भावित मन्त्री

पालिका डायरी
४ श्रावण २०८१, १२:१९
एमाले बागमती : नयाँ अनुहारलाई प्राथमिकता यी हुन् सम्भावित मन्त्री

हेटौंडा / केन्द्रमा बनेको नयाँ सत्ता समीकरण अनुसार प्रदेशहरुमा पनि नयाँ सत्ता समीकरणको सरकार गठनको चटारो सुरु भएको छ । बागमतीमा हाल माओवादी नेतृत्वको सरकार छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर राजीनामा दिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले आउँदो आइतबार (असार ६) मा विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिएसँगै बागमती सरकार ढल्नेछ ।

माओवादी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–एमाले गठबन्धनको सरकार बनाउने बाटो फुक्छ। असार ६ पछि बन्ने सरकारका लागि दलहरुले मन्त्रीको नाम टुंग्याउने जमर्कोमा जुटेका छन्। मन्त्रीबन्न इच्छुक सांसदहरु केन्द्र शक्ति धाइरहेका छन् । १३ मन्त्रालय रहेको बागमतीमा एमाले र कांग्रेस मात्रै सरकारमा जाने हो भने एउटा दललाई ६ र अर्कोलाई ७ मन्त्रालय भागमा पर्ने हुन्छ । यसो हुँदा कांग्रेस र एमालेले आ–आफ्नो मन्त्रीहरुको गृहकार्य सुरु गरेको छ ।

बागमती प्रदेश सरकारमा एमालेका मन्त्रीहरु दोहोरिसकेको छन् । दोहोरिएका मन्त्रीलाई तेस्रो पटक पनि सरकारमा जान दिने अवसर यो पटक नदिइने बताइएको छ । तर एकपटक मात्रै मन्त्री बनेकालाई भने दोहो¥याउने मूडमा एमाले रहेको एमालेका एक प्रदेश सांसदले बताए । एमालेको प्रारम्भिक छलफल अनुसार एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया भने तेस्रो पटक पनि अर्थ मन्त्रालयमा जाने राणनीति बनिरहेको छ भने थपलिया बाहेक एक पटक मात्रै मन्त्री बनेका प्रकाश श्रेष्ठले पुनःसरकारमा जाने मौका पाउन सक्नेछन् ।
एमाले बागमती प्रदेशका सचेतक मधूसुदन पौडेलले हालसम्म बागमती सरकारमा को–को जाने ? भन्ने बिषयमा घनिभूत छलफल हुन नपाएको बताउँछन् । यद्यपी, यसअघि रहेका मन्त्रीहरु तेस्रो पटक पनि सरकारमा नजाने भन्ने बिषयले चर्चा पाएको उनको दावी छ । बागमती प्रदेश सरकारमा एमालेका धेरैजसो नयाँ अनुहारलाई सरकारमा लगिने तयारी भएको सचेतक पौडेल बताउँछन् ।

यी हुन् दाबेदार
बागमती प्रदेश सरकारमा एमालेका नयाँ अनुहारले मौका पाउने भएपछि आधा दर्जन बढी सांसदहरु मन्त्रीको आकांक्षी देखिएका छन् । यसपटक एमालेले सांसदहरु डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, अमन मास्के, किरण थापा, ज्ञान बहादुर तामाङ र भारती पाठकको नाम अघि सार्ने तयारी गरेको स्रोले बताएको छ। यी ६ जना बाहेक संसदीय नेता समेत रहेका जगन्नाथ थपलिया र पूर्व उद्योग मन्त्री प्रकाश श्रेष्ठ समेत सरकारमा जान सक्ने स्रोतको दाबी छ। एमालेको भागमा ६ अथवा ७ मन्त्रालय परे पनि यही ८ जनामध्येबाट सरकारमा जाने अन्तिम छलफल चलिरहेको सांसदहरु बताउँछन् ।

थपलिया यसअघि दुईपटक अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भैसकेका छन् । दलको नेता समेत रहेका उनी बागमती प्रदेशको मुख्यमन्त्रीको दौडमा समेत छन् । केन्द्रको सहमती अनुसार पहिलो दुईबर्ष कांग्रेसले बागमतीको नेतृत्व गर्ने र अन्तिम चुनावी बर्ष एमालेले प्रदेशको नेतृत्व गर्ने भन्ने सहमती भएको बताइएको छ । मुख्यमन्त्रीको दौडमा रहेका थपलिया तेस्रो पटक पनि अर्थ मन्त्रालयमा जाने कि नजाने भन्ने ऐकिन भैनसकेको बताइएको छ । यद्यपी, पूनः अर्थ मन्त्रालय लिएर सरकारमा सहभागी हुन इच्छुक देखिएको उनी निकट स्रोत बताउँछ ।

यता, समानुपातिक निर्वाचित सांसदहरु डा. दिनेशचन्द्र शर्मा, ज्ञानेन्द्र तामाङ र भारती पाठक पनि मन्त्रीको दौडमा छन् । तामाङलाई मन्त्री बनाउन पर्छ भन्ने आवाज जनजाती सांसदहरुबाटै उठिरहेको बताइएको छ भने देवकोटा र पाठक पनि यसअघि सरकारमा जान इच्छा गरेपनि अवसर नपाएपछि यो पटक सरकारमा सहभागी हुने सम्भावना बढेको बताइएको छ ।

प्रत्यक्ष निर्वाचित तर्फ काठमाडौं निर्वाचन क्षेत्र ६(२) बाट निर्वाचित सांसद अमन कुमार मास्केको सम्भावना बलियो रहेको एमालेकै एक नेताले बताए । सरकारमा जाने सांसदहरुको ड्राफ्टमा मास्केको नाम समावेश भएको ती नेताको दाबी छ ।

सोही ड्राफ्टमा दोलखाको निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित सांसद भरत बहादुर केसी, भक्तपुर २(१) बाट निर्वाचित सांसद किरण थापा, पूर्व मन्त्री समेत रहेका काठमाण्डौं निर्वाचन क्षेत्र ७(२) बाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ र दलका नेता समेत रहेका चितवन १(१) बाट निर्वाचित जगन्नाथ थपलिया मन्त्री बन्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ ।

 

प्रतिक्रिया