बागमती प्रदेश सरकारमा जान कांग्रेसका दर्जन बढी आकांक्षी

पालिका डायरी
५ श्रावण २०८१, १२:१५
बागमती प्रदेश सरकारमा जान कांग्रेसका दर्जन बढि आकांक्षी

हेटौंडा /  केन्द्रमा एमाले–कांग्रेसको नयाँ सत्ता समीकरणको गृहकार्य चलिरहेको छ । केन्द्रमा कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माणको प्रक्रिया सुरु भएसँगै प्रदेशहरुमा पनि सोही गठबन्धनको सरकार गठनका लागि दलहरु जुटिरहेका छन् । अब बन्ने नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा कांग्रेसका सांसदहरुले लबिइङ सुरु गरेका छन् । १३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसबाट मात्रै मन्त्री बन्नका लागि दर्जन बढि इच्छुक देखिएका छन् ।

केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच भएको सहमती सार्वजनिक नभए पनि बागमतीको नेतृत्व कांग्रेसको भागमा परेको चर्चा छ । हाल माओवादी नेतृत्वको सरकार रहेको बागमतीमा नयाँ सत्ता गठबन्धनमा पहिलो पटक कांग्रेसले नेतृत्व गर्ने चर्चा छ । त्यसोहुँदा कांग्रेसले मुख्यमन्त्री सहित केही मन्त्रालयको जिम्मेवारी पाउनेछ । मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुर सिं लामा बन्ने करिब पक्कापक्की जस्तै छ ।

१३ मन्त्रालयमध्ये कांग्रेस र एमाले मात्रै सरकारमा सहभागी भए ठुलो दलको हैसियतले पनि कांग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय पाउन सक्छ। बाँकी ६ मन्त्रालय एमालेको भागमा पर्ने अनुमान छ । मुख्यमन्त्री सहित ७ मन्त्रालय पाउने प्रारम्भिक सम्भावना रहेको अवस्थामा कांग्रेसबाट मन्त्रीको आकांक्षी भने दर्जन पुगेका हुन् ।

जसमा कांग्रेस बागमती संसदीय दलका उपनेता समेत रहेका रामकृष्ण चित्रकार, पूर्व मन्त्रीद्धय मसिना खड्का र तीर्थबहादुर लामा, प्रभात तामाङ, कुन्दनराज काफ्ले, समिता खड्की, सुना परियार, हरिप्रभा खड्की, रामकुमार पहाडी, पुकार महर्जन, दीपेन्द्र श्रेष्ठ र गोविन्द लम्साल लगाएत सांसदको नाम चर्चामा छ ।

त्यसोत, अब बन्ने सरकारमा कांग्रेसले नयाँ अनुहारलाई प्राथमिकता दिइने बिषयमा छलफल भैरहेको कांग्रेसका एक सांसदले बताए। उनका अनुसार यसअघि सरकारमा जाने अवसर नपाएका तथा सदनमा सक्रिय भूमिकामा उत्रिएका सांसदलाई सरकारमा लाने बिषमा छलफल भैरहेको हो ।

यदी सोही अनुरुप कांग्रेसले सरकारमा सहभागी गराउने सांसद छान्ने हो भने यसपटक महिलातर्फबाट एकजनामात्रै छाने हरिप्रभा खड्कीलाई अघि बढाउन सक्ने आंकलन गर्न सकिन्छ । मुख्यमन्त्रीको दावेदारको रुपमा काठमाडौं–६ ‘क’ बाट प्रत्यक्ष निर्वाचित भएर आएकी खड्की अघिल्लो पटक मन्त्रीपरिषद्मा सहभागी हुन पाइनन् । सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित मसिना खड्का वन मन्त्री बन्ने अवसर पाउँदा खड्की व्याक हुनपरेको थियो ।

यस्तै, कुन्दनराज काफ्ले, रामकृष्ण चित्रकार, रामकुमार पहाडी, प्रभात तामाङ, गोविन्द लम्साल र सुना परियारको सम्भावान धेरै देखिन्छ । दोलखा प्रदेश निर्वाचन क्षेत्र (क) बाट निर्वाचित सांसद काफ्ले यसअघि दलको सचेतकको भूमिका समेत निर्वाह गरेका थिए। ललितपुर २(ख) बाट निर्वाचित सांसद रामकृष्ण चित्रकार यसअघि एक बर्ष सरकारमा सहभागी भएका थिए। लामो समय बिना विभिागीय मन्त्रीको जिम्मेवारी सम्हालेपछि उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी दोस्रो पटक पनि सरकारमा सहभागी हुन इच्छा देखाएका छन् ।

कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहँदा दलको तर्फबाट सदनमा बोल्ड बनेर उत्रिएका सांसद रामकुमार पहाडी पनि मन्त्री बन्ने दौडधुपमा लागेका छन् । आगामी आर्थिक बर्षको बजेटमाथिको छलपलमा उनले दिएको बोल्ड अभिव्यक्तीलाई आधार बनाएर कांग्रेसले सरकारमा सहभागी गराउने बिषयमा छलफल थालेको सांसदहरु बताउँछन्। सिन्धुली १(ख) बाट निर्वाचित सांसद पहाडी मन्त्री बन्नका लागि काठमाडौं धाइरहेका छन् ।

यता, रसुवा क्षेत्र नम्बर १(क) बाट निर्वाचित सांसद प्रभात तामाङ पनि मन्त्रीको लागि दौडधुपमा छन्। प्रदेशको भूगोलको हिसाबले पनि तामाङको सम्भावना बलियो हुनसक्ने आंकलन छ । धादिङ २(क) बाट निर्वाचित गोविन्द लम्साल र काठमाण्डौंबाट निर्वाचित समानुपातिक सांसद सुना परियार पनि मन्त्री बन्नका लागि दौडधुपमा जुटेका छन् ।

उपसभामुख पदको निर्वाचनमा समेत होमिएर पराजित भएकी सांसद परियार दलित समुदायकी हुन्। उनले यसअघि पनि मन्त्रीका लागि दौडधुप गरेकी थिइन् । तर अवसर पाइनन्। अब बन्ने सरकारमा भने उनी सहभागी हुनका लागि पार्टीमा दबाव बढाइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया