बागमतीको मुख्यमन्त्रीमा कांग्रेस भित्रै हानाथाप : देउवा निवासमा बानियाँ र लामाको दौडधुप

पालिका डायरी
५ श्रावण २०८१, १३:१२
बागमतीको मुख्यमन्त्रीमा कांग्रेस भित्रै हानाथाप : देउवा निवासमा बानियाँ र लामाको दौडधुप

हेटौंडा / केन्द्रमा नयाँ सत्ता समीकरणको सरकार निर्माण भएसँगै बागमती प्रदेशको सरकार गठनको लागि राजनीतिक दलहरु जुटिसकेका छन् । प्रदेशको नेतृत्वको लागि दलहरुको दौडधुप बाक्लिएको छ। केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा बागमती प्रदेशको नेतृत्व कांग्रेसलाई दिने भन्ने लिखित सहमति भएको भन्ने चर्चा छ ।  यद्यपी , दुई नेताबीच के सहमति भयो भन्ने पत्र भने अझै सार्वजनिक गरिएको छैन । तथापि, सोही चर्चालाई आधार मान्ने हो भने पनि बागमती प्रदेशको नेतृत्व कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाको पोल्टामा पर्नेमा दुई मत छैन । 


दलको हिसाबले बागमती प्रदेशको नेतृत्व कांग्रेसको भागमा पर्ने निश्चित भैसकेको अवस्थामा कांग्रेस भित्र पनि को मुख्यमन्त्री ? भन्ने चर्चा चुलिएको छ ।  कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका सांसद इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडमा काठमाडौं छोडेकै छैनन् । मुख्यमन्त्री बन्ने लबिङमा जुटेका छन् उनी । यता, दलका नेताको हैसियतले आफू बाहेक अन्य सांसद मुख्यमन्त्री बन्न नपाउने भन्दै बहादुर सिं लामा कांग्रेस सभापति शेरबहादुर देउवाको घर नछोडेको चर्चा छ । संसदीय दलको नेता चयनकै बेला चुनावी प्रतिस्पर्धा गरेका बानियाँ र लामाबीच लामाको जीत भयो । दलको नेतामै हार व्यहोरेका बानियाँ यतिबेला मुख्यमन्त्रीको कार्ड पाउने आशामा छन् । दुवै नेताले उत्तिकै राजनीतिक शक्ति प्रयोग गरिरहेका छन् । 


प्रदेशसभा संसदीय दलको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । प्रदेशसभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताले नै नेतृत्व गर्ने भन्ने छ । यस्तो अवस्थामा लामा नै मुख्यमन्त्री बन्न पाउने अधिकार छ । अघिल्लो कार्यकाल दलको नेता बनेका बानियाँलाई यस्तो अवसर जुर्दै जुरेन । ५ वर्षको अवधि दलको नेता भएर सदन हाँकेका बानियाँ उतिबेला पनि मुख्यमन्त्री बन्न नचाहेका होइनन् । तर केन्द्रले लगाइदिएको भागबन्डामा कांग्रेसले बागमतीको नेतृत्व हात पार्ने अवसर नै पाएन । कांग्रेसले बागमतीको नेतृत्व पाउन लागेको यो पहिलो पटक हो ।


दोस्रो कार्यकालमा बानियाँ मुख्यमन्त्री बन्ने धोको पूरा गर्नकै लागि प्रदेशको टिकट दिएर निर्वाचनमा होमिए । मकवानपुरका बानियाँको टक्कर बन्न पुगे नुवाकोटका बहादुर सिं लामा । प्रदेश सभामा सांसदहरुले पद तथा गोपनियताको सपथ लिएदेखि नै यी दुई नेताबीचको टक्कर सुरु भैसकेको थियो । बानियाँ प्रदेशका सभापति, लामा कांग्रेस केन्द्रिय सदस्य । पार्टीको पोर्टफोलियोको आधारमा बानियाँ भन्दा लामा शीर्ष भन्ने एक प्रकारको बहस नै चल्यो । 


संघको टिकट नपाएर प्रदेशमा मुख्यमन्त्री बन्न झरेको भन्दै लामाले दलको नेताका लागि ठुलै कसरत गरे । बानियाँलाई जसरी पनि मुख्यमन्त्री बन्ने रहर पूरा गर्नु थियो । दुवैको टक्करले दलको नेताका लागि मतदान नै भयो । कांग्रेसको कुल ३७ सांसद रहेकोमा लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाएर पराजित भएका थिए । त्यसबेला देखि नै बानियाँको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको थियो । 
तर पनि उनले हार भने मानेका छैनन् । केन्द्र धाएर भए पनि बागमतीको नेतृत्व चलाउने दौडमा लागेको कांग्रेका एक सांसद बताउँछन् । ‘आजभोलि बानियाँ जी मुख्यमन्त्री बन्नको लागि दौडधुपमा हुनुहुन्छ रे, ती नेताले भने, दलका नेता हुँदाहुँदै सांसदले मुख्यमन्त्री पाउनुहोला जस्तो त लाग्दैन । हाम्रो विधानमा पनि दलका नेता नै मुख्यमन्त्री हुने भन्ने छ  उहाँले रहर गरिरहनुभएको छ भन्ने चर्चा चाहिँ छ। हेरौं के हुन्छ ।’


दुईमध्ये को बन्लान् मुख्यमन्त्री  ?

त्यसो भए यी दुई नेतामध्ये बामगतीको मुख्यमन्त्री को बन्लान् त ? यो सबैको चासोको बिषय बनेको छ । कांग्रेसको प्रदेश विधान अनुसार दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भन्ने छ । उक्त विधान नै फर्ने अथवा दलको नेता नै फेर्ने अवस्थामा कांग्रेस नरहेको कांग्रेसका नेताहरु बताउँछन् ।  कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार जो बने पनि कांग्रेसकै नेतृत्वमा सरकार जाने हुन्दा हानाथापमा लाग्न नहुने तर्क गर्छन् । दलको विधानमा टेकेर जो मुख्यमन्त्री भएपनि स्वीकार्नुको विकल्प नरहेको उनको भनाइ छ । 


‘दुई जना मभ्ये जो मुख्यमन्त्री बन्नुभए पनि हामी खुसी हुनेछौं,’ उपनेता चित्रकारले भने, तर विधानकै कुरा गर्ने हो भने तत्कालीन अवस्थामा लामा जी नै मुख्यमन्त्री बन्न पाउने प्रबल सम्भावना पनि छ । उहाँको अधिकार पनि हो।’ हालसम्म ४ जना मुख्यमन्त्री पाइसकेको बागमतीमा दलका नेता बाहेक मुख्यमन्त्री बनेको इतिहास छैन।

 

 

प्रतिक्रिया