बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

पालिका डायरी
६ श्रावण २०८१, ११:३७
बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई १०५ सांसदको समर्थन

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आइतबार (आज) प्रदेश सभाबाट विश्वासको मत लिदैछन् । गत असार २४ गते नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् । यस अघि तीनपटकसम्म विश्वासको मत लिएर सत्ता जोगाएका उनलाई चौथो पटक भने सत्ता गुम्ने निश्चित जस्तै छ ।

नयाँ सत्ता समीकरणको सरकार बनाउन लागेको एमाले र कांग्रेसले आफ्ना सांसदलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ भने अन्य दललाई समेत विपक्षमा मतदान गर्न अनुरोध गरेको छ ।  हाल माओवादी नेतृत्वको सरकार जोगाउनेतर्फ नलागेर नयाँ सत्ता समीकरणको सरकार गठनमा लाग्ने कांग्रेस र एमालेका सांसदहरु बताउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हाम्रो नेपाली पार्टी (हानेपा) लाई समेत विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको कांग्रेस बागमती प्रदेश संसदीय उपनेता रामकृष्ण चित्रकार बताउँछन् ।

त्यसोत, विश्वासको मत नपाउने निश्चित देखेपछि मुख्यमन्त्री आफैले कुनै दलहरुसँग विश्वासको मत नै नमागेको उनी स्वीकार गर्छन् । ‘राजनीतिक परिस्थितीका कारण माओवादी केन्द्र प्रतिपक्षी दलको भूमिकामा रहनुपर्ने समय आएको छ, ‘मुख्यमन्त्री जम्मकट्टेलले भने, त्यसकारण पनि मैले यो पटक कुनै राजनीतिक दलहरुसँग विश्वासको मतका लागि हात जोडेको छैन । संवैधानिक व्यवस्थाको उपयोग गरौं भन्ने भएर विश्वासको मतको प्रक्रियामा सहभागी हुन लागेको हुँ ।’

पटक/पटक विश्वासको मत लिएर सत्ता जोगाएका मुख्यमन्त्री जम्मकट्टेलको विश्वास मतको संख्या घट्दो क्रममा छ। जम्कट्टेलले २०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिदा नेमकिपा बाहेक ६ दलको समर्थन पाए । दोश्रो पटक २०७९ चैत्र १० मा दोश्रो पटक विश्वासको मत लिने क्रममा मुख्यमन्त्री जम्कट्टेलले ६७ मतमात्र प्राप्त गरे भने तेस्रो पटक २०८० चैत्र १९ मा विश्वासको मत लिएका उनले मुस्किलले ५६ मत बटुलेर सत्ता जोगाएका थिए । तर अब भने उक्त विरासत जोगाउन सक्ने पक्षमा छैनन् उनी। माओवादी, हानेपा र नेकपा एसले साथ दिए भनेपनि मतको संख्या ३० मात्रै हुन्छ ।

प्रतिक्रिया