भुटनदेवी माविद्वारा योजनाबद्ध शैक्षिक विकासको कार्यशाला आयोजना

पालिका डायरी
६ श्रावण २०८१, १७:०४

मकवानपुर जिल्ला कै शैक्षिक क्षेत्रमा अगुवा र उत्कृष्ट सामुदायिक विद्यालय भुटनदेवी मा। बि। ले एक दिने वार्षिक योजना तथा बजेट निर्माण कार्यशाला -२०८१ सञ्चालन गरेको छ । २०८१ सालको एसईई परीक्षामा गुणस्तरमा मकवानपुर जिल्ला कै प्रथम स्थान हासिल गर्न सफल विद्यालयले आगामी २०८१/०८२ वर्ष अझ व्यवस्थित शैक्षिक योजनासहित अगाडि बढ्न कार्यशाला आयोजना गरिएको हो । 


कार्यशालामा भौतिक पूर्वाधारको विकास, शैक्षिक विकास, विद्यार्थीको समग्र विकासको लागि अतिरिक्त क्रियाकलाप र श्रोतको खोजी, परिचालन र पारदर्शिता ४ वटा विषयमा समूह बनाई छलफल गरिएको थियो । छलफल पश्चात भौतिक पूर्वाधार विकासबारे शिक्षक सरस्वती अधिकारी, शैक्षिक विकास बारे शिक्षक सूर्य घिमिरे, अतिरिक्त क्रियाकलापबारे शिक्षक सुमन श्रेष्ठ र श्रोतको खोजी, परिचालन र पारदर्शिता बारे विद्यालयका  बालकृष्ण दाहालले समूहका सुझावहरू प्रस्तुत गर्नु भएको विद्यालयका सप्रअ भरत पोखरेलले जानकारी दिनुभयो ।

जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक र कर्मचारी सहभागिता रहेको कार्यशालाको उद्देश्यबारे विद्यालयका प्रधानाध्यापक माधव दाहालले प्रष्ट पार्नु भएको थियो । कार्यशालामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले योजनाबद्ध र व्यवस्थित रूपमा शैक्षिक विकास र उन्नयनको लागि अगाडि बढ्न कार्यशाला आयोजना गरिएको बताउनुभयो । हेटौँडा-४ को वडा अध्यक्ष समेत रहेका सिग्देलले विकासको सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षा भएकोले सामुदायिक र संस्थागत विद्यालय बीचको सहकार्य र प्रतिस्पर्धाद्वारा शिक्षामा गुणस्तर सुधार गर्न वडा कार्यालय लागिपरेको बताउनु भयो । 


१२ कक्षासम्म अध्ययन हुने यस विद्यालयमा करिव २३ सय विद्यार्थी अध्ययनरत छन् भने  सिभिल इन्जिनियरिङ्, व्यवस्थापन, विज्ञान विषय र सीटीभीटी तर्फ ३ वर्षे डिप्लोमा इन्जिनियरिङ् विद्यालयले अध्यापन गराउँदै आएको छ । कार्यशालामा समूहगत छलफलबाट निकालिएको निष्कर्षलाई विद्यालयको आगामी कार्ययोजनाको रूपमा अगाडि बढाउन प्रधानाध्यापक माधव दाहालको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको सह प्रअ भरत पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया