सामाजिक विकास मन्त्री मोक्तानको प्रगती विवरण सार्वजनिक

पालिका डायरी
७ श्रावण २०८१, १५:३४
सामाजिक विकास मन्त्री मोक्तानको प्रगती विवरण सार्वजनिक

हेटौंडा /  बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा गरेको कार्य विवरण सार्वजनिक गरेकी छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोक्तानले दोस्रो कार्यकालको हालसम्म भएका प्रगती विवरण सार्वजनिक गरेकी हुन् ।

उनका अनुसार मन्त्रालयले दोस्रो कार्यकालमा निकै राम्रा कामहरु गरेको गरेको छ । शिक्षा, खेलकुद, महिला तथा बालबालिका, अपांगता भएका व्यक्ति तथा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको क्षेत्रमा मन्त्रालयले उल्लेख्य कामहरु सम्पन्न गरेको मन्त्री मोक्तानले बताइन् ।

मन्त्री मोक्तानले यस अवधिमा सामुदायिक माध्यमिक विद्यालयमा “विद्यालय बस“ खरिदको व्यवस्था गरी शिक्षामा पहुँच र गुणस्तर सुधारमा सहयोग प्रदान गरिएको बताइन् । माध्यमिक तहमा शून्य दरबन्दी रहेका २ सय ७७ सामुदायिक वटा माध्यमिक विद्यालयहरूलाई एक÷एक जना माध्यमिक तहको शिक्षक बराबरको अनुदान उपलब्ध गराइएको तथा कृषि तथा पशु विज्ञान अध्ययन गराउने सामुदायिक माध्यमिक विद्यालयहरूलाई शैक्षिक पूर्वाधार विकासमा सहयोग प्रदान गरिएको मन्त्री मोक्तानले बताइन् ।

यस्तै, प्रदेशका ३६ वटा सामुदायिक माध्यमिक विद्यालयमा “सिक्दै कमाउँदै, कमाउँदै सिक्दै” कार्यक्रम कार्यान्वयन भएको समेतको उनको भनाइ छ ।

यस्तै, बाल सूधार गृहका ९० जना बालबालिकाहरुलाई जीवनपयोगी सीपयुक्त तालिम सञ्चालन गरिएको बताइएको छ भने स्थानीय तहका महिला तथा बालबालिका शाखाका जनशक्तिको लागि अभिमुखीकरण तथा समीक्षा कार्यक्रम गरिएको मन्त्री मोक्तानले बताइन् । प्रदेशमा रहेका ११९ स्थानीय तहमध्ये ३५ वटा स्थानीय तहसँगको साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, खेल क्षेत्रमा रंगशाला निर्माण, अन्तर प्रदेश खेलकुद प्रतियोगिता, खेलाडि सम्मान तथा नयाँ खेलाडि उत्पादन जस्ता कार्यहरु सम्पन्न भएको मन्त्री मोक्तानको दाबी छ ।

प्रतिक्रिया