बालबालिकामा अनलाइन यौन शोषण रोख्न सरोकारवालाहरुसँग छलफल

पालिका डायरी
८ श्रावण २०८१, २२:१९

हेटौंडा /  अनलाइनमा बालबालिकामाथि हुने यौन शोषण न्यूनीकरणका लागि सरोकारवालाहरुको भुमिकाबारे छलफल गरिएको छ । मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा अनलाइनले बालबालिकामा परेको नकारात्मक असर र त्यसको न्यूनीकरणका विषयमा छलफल गरिएको हो।
बाल हेल्पलाइनका अध्यक्ष माधव प्रधानको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालबालिकाको लागि छुट्टै ऐन बनाउन पर्ने चर्चा भएको थियो।

कार्यक्रममा अनलाइन शोषण सम्बन्धी तथ्यहरु र अनलाइन बालयौन शोषणबाट बालबालिकाहरुलाई जोगाउन सरोकारवालाहरुको भुमिकाहरुबारे छलफल भएको छ । बाल हेल्पलाइनका अध्यक्ष माधव प्रधानले अनलाइन यौन शोषणमा परेका बालबालिकाहरुमा परेका मानसिक असर ज्यादै नकारात्मक र दुरगामी हुने गरेको पाइएको बताए । यसको असरअनुरुप बालबालिकाले पढाइमा ध्यान दिन नसक्ने, आत्महत्या प्रयास र लामा समयसम्म दुःखी हुने गरेको पाइएको उनको भनाई छ ।

कार्यक्रमको सहजीकरण नेपाल दुर सञ्चार प्राधिकरणका पुर्व वरिष्ठ निर्देशक आनन्द राज खनालले सहजीकरण गरेका थिए । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्नेहरुमा बालबालिका तथा किशोरकिशोरीहरुको संख्या उल्लेख्य रहेको उनले बताए । यसमा पनि विश्वव्यापी महामारी कोभिड–१९ पछिको लकडाउनको अवधिमा इन्टरनेट प्रयोग गर्ने बालबालिकाको संख्या बढेको पाइएको उनको भनाई थियो।

विद्यालयको पाठ्यक्रममा अनलाइनमा बालसंरक्षणको विषय समावेश गर्नुपर्ने, बालयौन शोषणाको विषयमा सामुदायिक संस्थाहरु, गैरसरकारी र विभिन्न निकायहरुसँग सहकार्य गर्दै बालसंरक्षण नीति तर्जुमा गरी कार्यन्वय गर्नुपर्ने, अनलाइनमा भएका बालयौन शोषणा तथा दुव्र्यवहार सम्बन्धी रिर्पोटिङको व्यवस्था मिलाउनुपर्ने, शैक्षिक संस्थाहरुले कम्प्युटर कक्षाहरुमा इन्टरनेट अनलाइनको सुरक्षा विषय समावेश गर्नुपर्ने, अभिभावक, विद्यालय व्यवस्थापन र शिक्षकहरुबीच अनलाइन सुरक्षाबारे सचेतना फैलाउने वातावरण मिलाउनुपर्ने बताए।

बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तीर्थराज चिलवाल, शिक्षक संघ मकवानपुरका अध्यक्ष जीवन ढकाल, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुबेदी लगाएको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया