मन्त्रीलाई माला लगाउन गएको थिएँ, आफै मन्त्री भएर आएँ- मन्त्री तामाङ

पालिका डायरी
१२ श्रावण २०८१, १६:२८
मन्त्रीलाई माला लगाउन गएको थिएँ, आफै मन्त्री भएर आएँ- मन्त्री तामाङ

बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङले आफू मन्त्रीलाई माला लगाउन गएको, तर आफै मन्त्री भएर फर्किएको बताएकी छिन्।

नेकपा एमाले सिन्धुलीले जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै, मन्त्री तामाङले आफू मन्त्रीलाई माला लगाउन हेटौंडा गएको तर अहिले आफै मन्त्री भएर जिल्ला फर्किएको बताइन्।

उनले भनिन्, “सरकार परिवर्तन भएपछि, विश्वासको मत दिन हेटौंडा गएकी थिएँ। नयाँ सरकार गठनको कुरा चलेको थियो। मेरो पनि नाम चर्चामा थियो। तर, मैले मन्त्री हुन्छु भन्ने कल्पना समेत गरेकी थिइनँ। एक्कासि म मन्त्री भएँ। त्यो क्षण म बिर्सन सक्दिनँ। म जस्तो सामान्य मान्छे, भुईँ मान्छे पनि मन्त्री बन्न सक्दो रहेछ।”

उनले थपिन्, “नेपालमा मन्त्री बन्न पैसा, पावर र धेरै चलखेल हुन्छ भन्ने सुनेकी थिएँ। त्यो होइन रहेछ। नेकपा एमालेले लगाव, योगदान र इतिहासको उचित मूल्याङ्कन गर्दो रहेछ।” साथै उनले नेता तथा कार्यकर्तालाई अवसर नपाएको भनेर विचलित र निराश नहुन समेत आग्रह गरिन्।

मन्त्री तामाङले मन्त्री पदको गरिमाको दुरुपयोग नगर्ने, नेता तथा कार्यकर्ताहरूको शिर निहुराउने काम कहिल्यै नगर्ने बताइन्। उनले सबैको साथ र सहयोग लिएर जिल्लाको विकास निर्माणमा हातेमालो गर्ने र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्न दत्तचित्त भएर लागि पर्ने प्रतिबद्धता जनाइन्। अन्त्यमा, उनले साथ र सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरिन्।

प्रतिक्रिया