सडकको पहिरो हटाउन द्रुत प्रतिकार्य टोली गठन
हेटौंडा / बागमती प्रदेशमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश स्तरिय सडकमा बाढी, पहिरोको अवरोध हटाउन प्रतिकार्य टोली गठन गर्दै काम सुरु गर्ने निर्णय गरेको हो ।
बुधबार दु्रत प्रतिकार्य टोली गठन गरेर परिचालन समेत गरिएको हो । जसका लागि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक पुस्कर प्रसाद पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरिएको हो । जसमा भौतिक पूर्वाधार मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, भौतिक मन्त्रालयका फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन, यातायात पूर्वाधार विकास निर्देशनालय बागमतीका सूचना अधिकारी हरि प्रसाद ओझा र सम्वद्ध पूर्वाधार कार्यालयका कार्यालय प्रमुख रहेका छन् ।
यस टोलीले अबरुद्ध भएका मुख्य प्रादेशीक सडकहरुको पहिचान गरेर काम निरन्तर गर्ने, सूचना संप्रेशण गर्ने, बैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अबरुद्ध सडकहरु यथाशीघ्र छिटो सूचारु गर्ने, अन्तर निकायमा समन्वय गर्ने लगायतका कामहरु गर्ने मन्त्रालयका सचिव अमृत श्रेष्ठले जनाकारी दिए ।
यस्तै, कार्यक्रममा आफ्नो भनाई राख्दै भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले जनसरोकारका विषयमा भौति पूर्वाधार मन्त्रालयले काम गर्न लागेको बताए । बाटो अवरुद्धको पूर्व सूचना नहुँदा यात्रुले खेप्न परेको सास्ती, बिरामीहरुले बाटोमै ज्यान गुमाउन पर्ने जस्ता समस्याको हल गर्न द्रुत टोली खडा गरिएको मन्त्री मास्केको भनाइ छ ।