राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

पालिका डायरी
१८ श्रावण २०८१, २१:०१
राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

काठमाडौं /  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चौधरीले लुम्बिनी बिकास कोष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।

देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी बिकास कोषलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।

को हुन् राज्यमन्त्री चौधरी ? 

नवनियुक्त राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । उनले नेकपा एमालेका  झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका थिए ।

२२ बर्षको उमेरमा २०६२/०६३ को जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी सुदुरपश्चिममा लोकप्रिय सांसदका रुपमा चिनिन्छन् । राजनीतिमा जनताप्रति उत्तरदायी भएर निरन्तरता लाग्ने हाे भने जनताकाे मन जित्न सकिन्छ र अबसर पनि पाउन सकिन्छ भन्ने गतिलो उदारहण हुन्, चाैधरी ।

उनी २०७४ सालमा कैलालीकै लम्किचुहा नगरपालिकाको मेयरको उम्मेदवार भए । तर, जनप्रतिनिधि बन्न पुग्ने जनमत पाउन सकेनन् । करिब ५ सय मतान्तरले उनले चुनाव हारे । हारलाई पनि सफलता मान्ने गरेका चौधरी पुनः २०७४ सालमै प्रदेशसभा सदस्य पदको पनि उम्मेदवार बने । त्यसपटक पनि निर्वाचित हुन सकेनन् ।

उनी भन्छन्, `हारजित मेरो लागि ठुलो कुरा हैन्, थिएन । त्यसैले म कलेज पढ्ने उमेरदेखि मेरो पुर्ख्यौली, पारिवारिक पेसा र व्यवसायलाई पाखा लगाउँदै मेरो समाज र देशका लागि केही गर्छु भनेर २०६२/०६२ को आन्दोलन देखि नै लागेको मान्छे हुँ । आन्दोलन भनेको जनआन्दोलन मात्रै हैन्, म मेरो समाज परिवर्तन गर्ने, बिकास गर्ने र सम्बृद्व बनाउने आन्दोलनमा अन्यन्तै संघर्षरत यात्रा निरन्तर गर्दै आएको मान्छे हुँ । अन्ततः मेरो जनताप्रतिकाे इमान्दारीता र समाजप्रतिको  जिम्मेवारी वहन गर्ने शैलीलाई अनुमाेदन गरेर नागरिकहरुले यहाँसम्म ल्याउनु भएको छ ।´

समाज परिवर्तनको आफ्नो आन्दोलन मृत्युपर्यन्त रहने उनी बताउँछन् । `मेरो  लागि मन्त्री बन्नु ठुलो कुरा हैन् । तर, हिजो आम नागरिक भएर, एउटा अभियान्ता भएर, एउटा राजनीतिज्ञ हुँदै सांसद भएर पनि जनताकै मानोभावना, चाहाना र आकांक्षा सँगसँगै राज्यको समग्र बिकास र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो ठाउँबाट काम गरिरहेको मान्छे हुँ´, उनी भन्छन्, `अब मन्त्रीको कुर्सिमा बसेर मैले मेरो अधिकार र प्रचलित  कानुन अनुसार सम्बन्धित सबैसँग सकारात्मक कामका लागि हातेमालो गर्दै  इमान्दार पुर्वक आम जनताका पक्षमा वफदार भएर अधिकतम् काम गर्नेछु ।´

प्रतिक्रिया
newskarkahna-news736220.