वर्तमान गठबन्धन स्थायित्वको लागि: पूर्वमन्त्री थपलिया
हेटौंडा / बागमती प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले वर्तमान गठबन्धन स्थायित्वको लागि बनेको बताउनुभएको छ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै थपलियाले स्थायी सरकार बनाएर जनताको विश्वास जित्न र काम गर्ने बताउनु भएकाे हाे।
वर्तमान सरकारले स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको उहाँले भनाई छ। बागमती प्रदेश सरकारले स्वरोजगार बन्न अभिप्रेरित गर्ने गरी बजेट छुट्याएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जनताले सरकार छ भन्ने महसुस गराउने गरी हामी काम गर्छौं।”
थपलियाले विदेश जाने क्रम बढिरहेकोले यसको न्यूनीकरण गर्नेतर्फ सरकार उन्मुख रहेको जानकारी दिनुभयो। स्वतन्त्र विद्यार्थी युनियनहरूले धेरै काम गरेको भन्दै फोटोग्राफीको तालिम गरेकोमा खुशी व्यक्त गर्नुभयो। चर्चित विधा भएका कारण संसारमा परिचय बनाउन फोटोग्राफीले धेरै मद्दत गर्ने उहाँको भनाइ थियो। फोटोग्राफी तालिमलाई सार्थक बनाउनेगरी उपयोग गर्न उहाँले सुझाव दिनुभयो।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, पत्रकार सुरेश श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष शिवहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारीलगायतले बोलेका थिए। सात दिनसम्म चलेको तालिममा ७५ जना सहभागी थिए।