स्वास्थ्य मन्त्री थापाद्वारा टोखा अस्पताल अनुगमन

पालिका डायरी
२५ भाद्र २०८१, १०:४४

हेटौंडा /  बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ। स्वास्थ्य मन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही एवम् सेवाग्राहीका आफन्तसँग जानकारी लिनुभएको छ।

अस्पतालमा रहेका उपकरण, औषधीहरूलगायतका सामग्रीहरूको अधिकतम उपयोग गरेर सेवाग्राहीहरूलाई सेवा दिन अस्पताल प्रशासनलाई उहाँले निर्देशन दिनुभयो। उहाँले राम्रो काम गर्ने स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्ने पनि बताउनुभयो। अस्पतालहरूको सेवा सुधारमा प्रदेश सरकारले सहयोग गरिरहेको भन्दै यसलाई अझ विस्तार गर्ने बताउनुभयो।

मन्त्री थापाले अस्पतालको गतिविधि बारेमा जानकारी लिँदै सरल र सहज ढंगबाट नागरिकले पाउने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो। अनुगमनका क्रममा स्वास्थ्य मन्त्री थापासहित स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख एवम् प्रवक्ता डा. खगेश्वर गेलाल, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, अस्पतालका व्यवस्थापन समितिका पूर्व अध्यक्ष डा. दिपेन्द्र श्रेष्ठसहितको टोली सहभागी थियो। अनुगमनका क्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीधर अर्यालले अस्पतालको सेवा एवम् समस्याको बारेमा जानकारी गराउनुभएको थियो।

यसैगरी सोमबार नै मन्त्री थापा प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रद्वारा आयोजित हेमोफिलियाबाट प्रभावित व्यक्तिहरूका लागि एन्टी हेमोफिलिक फ्याक्टर खरिद तथा बिक्री सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ। रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहने अवस्थाको न्यूनीकरणका लागि यो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ।

सोमबार नै स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले आयोजना गरेको रक्त सञ्चारका लागि निःशुल्क ब्लड ब्याग कार्यक्रमको प्रदेश स्तरीय समीक्षा गोष्ठीमा समेत प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको छ।

प्रतिक्रिया
457879372_1265036494658156_2892869013903700481_n