पलेशा र एरिकालाई बागमती प्रदेश सरकारको सम्मान

पालिका डायरी
३ आश्विन २०८१, १६:४३

हेटौंडा / पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुद की रजत पदक‌ विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

हेटौँडास्थित मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र कराँतेको प्रदेश संघलाई नगदसहित सम्मान गरिएको हो । पलेशालाई १० लाख, एरिकालाई ५ लाख, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ, तेक्वान्दो र कराँतेको प्रदेश संघलाई समान एक(एक लाख रुपैयाँ प्रदान गरिने मुख्यमन्त्री लामाले घोषणा गरे।

एसियन च्याम्पियनसिपमा भाग लिन एरिका र प्रशिक्षक श्रेष्ठ चीनको हाङजाउमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन्। एरिकाको‌ उनकी आमा रत्न गुरुङले सम्मान ग्रहण गरेकी थिइन् । सोही अवसरमा एसियाडमा करातेका व्यवस्थापक निवास गोपाल वैध र पारा ओलिम्पिक्सका तेक्वान्दोका व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सम्मान गरेका हुन् । कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो । पलेशाले हेटौँडामा भएको कार्यक्रममा आफूलाई पेरिसबाट फर्केकै दिनको जसतो झल्को आएको बताइन् । नयाँ पुस्तालाई तमाम समस्याकाबीचमा‌ पनि सफल हुने सम्भावना छ भन्ने उदाहरण आफूले प्रस्तुत गरेको र भविष्यमा सफलताका लागि सबैको सहयोगको अपेक्षा राखेको उनको भनाई छ ।

मुख्यमन्त्री लामाले पलेशा र एरिकालाई बधाई दिदै भविष्यमा थप सफलताको शुभकामना दिए । खेलकुदले आफ्नोपनको भावना सृजना गर्नुका साथै देशलाई चिनाउन सक्ने भएकाले बागमती प्रदेशले भविष्यमा खेलकुदलाई विकास गर्दै लाने योजना बनाएको उनले बताए।

 

प्रतिक्रिया
d96ce077-41ee-4f13-b11e-20a710f6c414