राक्सिराङमा विद्युतको भोल्टेज बढाउन कुलमान समक्ष माग 

पालिका डायरी
४ आश्विन २०८१, २०:२०
राक्सिराङमा विद्युतको भोल्टेज बढाउन कुलमान समक्ष माग 

हेटौंडा /  मकवानपुरको राक्सिराङ गाउँपालिकामा विद्युत्को भोल्टेज सुधार तथा पूर्ण विद्युत विस्तारीकरणका  लागि नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर गाउँपालिकामा रहेको विद्युतीय समस्याका विषयमा लिखित जानकारी गराएका हुन् । 

गाउँपालिका केन्द्रमा रहेको प्रशासनिक भवन, ठाडेचुली अस्पताल, चेपाङ संग्राहलय, प्रहरी चौकी, वन कार्यालय लगायतका अन्य बस्तीहरुमा समेत भोल्टेज अपुग भएर अस्पतालमा एक्स रे सेवा तथा पालिकामा प्रशासनिक काममा समेत समस्या हुँदै आएको अध्यक्ष मल्लले निर्देशक घिसिङलाई जानकारी गराएका हुन् । हेटौंडा विवरण केन्द्रले आवश्यक बजेट विनियोजन गरेर छिट्टै समस्याको हल गरिदिन आफूहरुले प्राधिकरणका निर्देश घिसिङ समक्ष अनुरोध गरेको पालिका अध्यक्ष मल्लले जानकारुी दिए । 

हेटौंडा वितरण केन्द्रबाट लागत सङ्कलन भएकोमा सो पत्र समेत पेश गरिएको उनको भनाइ छ । भोल्टेज सुधार मात्रै नभएर हालसम्म बिजुली नपुगेका बस्तीहरुमा विद्युतीकरण गर्ने तथा काठे पोल हटाएर फलामे पोल राख्नका लागि समेत आफूहरुले माग गरेको अध्यक्ष मल्ल बताउँछन् ।
राक्सिराङको ७  को केही भागमा विजुली पुगेको छ भने ९ नम्बर वडामा हालसम्म विजुली नपुगेको गाउँपालिकाका उपाध्यक्ष वनस्पति थिङले जानकारी दिए । हाल बिजुली पुगेका वडाहरुमा पनि प्रायः काठे पोल राखिएको र उक्त पोलका कारण दुर्घटनाको जोखिम बढेको भन्दै आफूहरुले पटक/पटक काठे पोल हटाउनका लागि विद्युत् प्राधिकरण समक्ष पहल गर्दै आएको उपाध्यक्ष थिङ बताउँछन् । 

प्रतिक्रिया
6613c5cb-86f5-4c69-b4dd-ff0db2406342