बागमती प्रदेशसभाबाट बनेका ऐन कार्यान्वयनमा सरोकारवालाहरुको जोड

पालिका डायरी
५ आश्विन २०८१, २०:२३

हेटौंडा / बागमती प्रदेशसभाबाट पारित भएका कानून कार्यान्वयनमा सरोकारवालाहरुले जोड दिएका छन् । जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा आज हेटौंडामा आयोजित कार्यक्रममा सहभागिहरु र सांसदहरुले यस्तो कुरा बताएका हुन् ।

बागमती प्रदेशसभाबाट पारित भएका कानून र यसको कार्यान्वयनको अवस्थाका विषयमा समितिका सभापति, सांसद र सरोकारवाहरुका बिचमा अन्तरक्रिया कार्यक्रममा सहभागि तथा अतिथीहरुले कानून जारी भएर राजपत्रमा प्रकाशित भएपछी कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्य एका लाल श्रेष्ठ, प्रदेशसभाका सदस्यहरु भारती कुमारी पाठक, प्रेमबहादुर पुलामी, प्रभात तामाङले धेरै मेहनतका साथ कानूनहरु जारी गरीएको र यसको कार्यान्वयनमा आफुहरुले जोड दिने र निगरानी समेत गर्ने बताउनुभयो ।


कार्यक्रममा प्रदेश सरकारका कर्मचारीहरु, कानून व्यावसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु, पत्रकारहरु लगायतकाले प्रदेश सरकारले जारी गरेका ऐनहरु आफ्ना अनुकुलमा ल्याएको र पछी संघीय सरकारले त्यही ऐन ल्याएकाले दुइ सरकारले बनाएका ऐन बाझिने भएकाले कार्यान्वयन समस्या भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा प्रदेश मामिला समितिका सभापति छिरीङ दोर्जे लामाले संसदीय समितिमा विधेयक माथि पर्याप्त छलफल गर्ने गरेको बताउनुभयो । अब अरुको समितिहरुमा पनि के कस्ता विधेयकमाथि कसरी छलफल हुदैं छन् र के कस्ता सुझाव आए भन्नेबारेमा ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले विधेयक ल्याइने ऐन, कानुन बन्ने र कार्यान्वयनमा लैजानेमा केही प्रवृत्तिगत समस्या पक्कै रहेको बताउनुभयो । उहाँले भन्नुभयो– संघीयदेखि प्रदेश तहसम्म यो रोग छ । विधेयकको मस्यौदा निर्माणको चरणमा पनि अन्तरमन्त्रालय, अन्तर समूह संगठनमा समन्वय छैन । कानून निर्माताहरुबीचमै मतमा एकता छैन । सरकारमा को छ, उसको आस्था र स्वार्थ के हो भन्नेमा आधारीत भएर विधेयक आउँछ, ऐन संशोधन गरिन्छ । त्यै संशोधन पनि सर्वसम्मत हैन बहुमतले पारित हुन्छ अनि कसरी आश्यकता अनुसारको कानुन आउँछ, स्वार्थको लागि त हो ।’

कार्यक्रममा प्रदेशसभाका सदस्य पे्रमबहादुर पुलामीले सरकार सञ्चालन गर्ने दलले आफ्नो आवश्यकता, आफ्नो स्वार्थ हेरेर त्यो अनुसार ऐन बनाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘कानून संशोधन गर्छ, आफ्नो काम देखाउन पनि सरकारको स्वार्थ स्पष्ट देखिन्छ । संशोधनको क्रममा छलफल हुन्छ, सुझाव दिने, लिने काम पनि हुन्छ, तर पारित गर्ने बेलामा सर्वसम्मत हुन सक्दैन, बहुमतको आधारमा हुन्छ । सांसदहरुले आफूले बुझेको सुझाव दिने, नबुझेको अवस्थामा विभिन्न स्रोतबाट बुझेर सिकेर पनि सुझाव दिने गर्नुपर्छ, म पनि त्यसै गर्छु ।’

कार्यक्रममा प्रदेशसभाका सदस्य भारती पाठकले कानून प्रभावकारी नबनेका हैनन्, स्वास्थ्य र बुझाइ बाझिएर यस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘विधेयकको मस्यौदा देखि नै स्वार्थ बाझिन्छ, अनि कानून संशोधनको क्रममा पनि त्यै हुन्छ । जनताको हितको लागि, तल्लो तहको आवश्यकतामा आधारित भएर विधेयक ल्याउने, कानून संशोधन गर्ने, यसको लागि सरोकारवाला अन्तरमन्त्रालय, समुदाय, बुद्धिजिवी वर्गसँग पर्याप्त छलफल नै हुदैन, यो हामीले स्वीकार गर्नै पर्छ ।’

कार्यक्रममा बागमती प्रदेशका नीति तथा योजना आयोगका उपसचिब अच्युत प्रसाद लामिछाने, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निबर्तमान अध्यक्ष प्रताप विष्ठ, जिल्ला बार एशोसिएशन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, अधिवक्ता मदन कुमार दाहाल, केशब प्रसाद गौतम, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत मेम कुमार पाठक, अपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष गणेश चन्द्र दवाडी, डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत बसन्तराज गौतम, रातो पाटीका बागमती प्रदेश व्युरो प्रमुख गणेश दुलाल लगायतकाले बागमती प्रदेशसभाबाट बनेका कानून, तीनको कार्यान्वयन र सरकारका कामका विषयमा आफ्ना सुझाब राखेका थिए । जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता बालकृष्ण अधिकारीले बागमती प्रदेशमा हाल सम्म बनेका कानुन, र कार्यान्वयनको अवस्थाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया
161ad5e3-c9cc-4ca8-9a98-0a46e2c7a846