बागमतीः प्रदेश सभा बैठक अवरुद्ध गर्ने माओवादीको तयारी, संकट टार्न मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

पालिका डायरी
५ आश्विन २०८१, २१:५९
बागमतीः प्रदेश सभा बैठक अवरुद्ध गर्ने माओवादीको तयारी, संकट टार्न मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

हेटौंडा / बागमती प्रदेश सभा बैठक नेकपा माओवादी केन्द्रले अवरोध गर्ने तयारी गरेको छ। आउँदो आइतबारका लागि आब्हान गरिएको प्रदेश सभा बैठक माओवादीले अवरोध गर्ने तयारी गरिएको बताइएको छ। प्रमुख प्रतिपक्षी दलसँगको सहमतीलाई लत्याएर सरकार अगाडि बढेको भन्दै सदन अवरुद्ध गर्ने पक्षमा आफूहरु जुटेको माओवादी केन्द्र बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बताए ।

प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका जम्मकट्टेलले प्रदेश सरकारले पछिल्लो समय गरेको काम कारवाही चित्त बुझ्दो नभएको कारण सदन अवरुद्ध गर्ने तयारी रहेको बताए। ‘बागमतीको सुसासन खर्चिले भयो, मितव्ययीता भएन,’ नेता जम्मकट्टेलले भने, ‘उतीबेला सरकार र प्रतिपक्षी दलहरुसँग गरिएको सहमती कार्यान्वयन भएन। सरकारले यसरी एकलौटी ढंगले अघि बढ्नु दुखद् हो ।’

प्रदेश सरकारले पछिल्लो समय आफ्नो दलका कार्यकर्तालाई विभिन्न रिक्त दरबन्दीमा राजनीतिक नियुक्त गरेको आरोप लगाए। यस्तै, जम्मकट्टेलले सरकारले प्रदेशको हितमा भन्दा पनि आ–आफ्नो दलको हितमा काम गरेको बताए । ‘त्यती मात्रै होइन प्रदेशमा मन्त्रीको संख्या बढाएकोमा पनि हाम्रो विमत्ती छ,’ जम्मकट्टेलले भने, ‘अरु त केही होइन बागमती सरकारमा नेपाली कांग्रेसको दादागिरी बढेको छ। एमाले मौन, कांग्रेस उग्र बन्दै गएको कारण बागमतीको अवस्था गम्भीर बन्दै गएको छ। यस्ता दादगिरीका विरुद्ध सदन अवरुद्ध गर्ने हाम्रो दलको तयारी छ।’

आफ्ना मागहरु सम्बोधन गर्न मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष कुरा राखेको र उक्त माग सम्बोधन नभएको खण्डमा सदन अवरुद्ध गर्ने माओवादीका सांसदहरु बताउँछन्। राजनीतिक नियुक्ती देखि प्रदेश सुसासनका सबालमा प्रमुख प्रतिपक्षी दलसँग छलफल नै नगरी एकलौटी निर्णय गरिएको प्रति आफूहरुको चित्त दुखाइ रहेको उनीहरु बताउँछन्।

यसअघि प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएदेखि करिब डेढ बर्ष प्रदेशको नेतृत्व गरेको माओवादी हाल प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। ११० प्रदेश सभा सदस्य रहेको बागमतीमा माओवादीका २१ सांसद छन् । दलीय अंकगणितको आधारमा माओवादी तेस्रो स्थानमा छ। सबैभन्दा धेरै ३७ प्रदेश सभा सदस्य रहेको कांग्रेस पहिलो स्थानमा छ भने एमालेका २७ सांसद छन् ।

यता, सरकार विरुद्ध आवाज उठाएर सदन चल्न नदिने तयारीमा रहेको माओवादीलाई अवस्था हेरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले समेत साथ दिने सांसदहरु बताउँछन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी (हानेपा) ले भने यस बिषयमा कुनै योजना नबनाएको बताएको छ ।

यता, विपक्षी दलहरुले सदन अवरोध गर्ने संकेत देखेपछि मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार बिहानका लागि सर्वदलीय बैठक आव्हान गरेका छन् । दलीय मदभेद सर्वदलीय बैठकबाटै टुंग्याएर सदनमा जाने तयारी स्वरुप सर्वदलीय बैठक आव्हान गरिएको मुख्यमन्त्री लामाले बताए । ‘विपक्षी दलहरुसँग खास त्यस्तो नराम्रो त केही छैन,’ उनले भने, ‘तर पनि लामो समयपछि सदनमा जान लागेको एकपटक छलफल गरेर उहाँहरुको राय लिएर मात्रै जाऔं भन्ने हो।’

आइतबार बस्ने प्रदेश सभा बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पुर्ण छलफल गराई पारित गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएकोे छ। प्रदेश सभा अन्तरगत रहेको विभिन्न समितिहरुमा उक्त तीन वटा विधेयकमाथि पूर्ण छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ । बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो । सो बैठकबाट दुई वटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया
shalik bahadur