बर्षाका कारण बागमतीमा १०२ जनाको मृत्यु, २२ जना बेपत्ता
बिहीबारदेखि परेको अविरल बर्षाका कारण बागमती प्रदेशमा १ सय २ जना जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार हालसम्मको अवधिमा प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा बाढी, पहिरोमा परेर १०२ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार यो अवधिमा ७४ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवंम् निमित्त प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार उपत्यका बाहेकका १० जिल्लाहरुमध्ये सबैभन्दा धेरै धादिङमा मानवीय क्षति भएको छ । धादिङको धुनिवेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोले यात्रुवाहक सवारीहरु पुरिदा मानवीय क्षतिको संख्या बढेको बस्नेतले बताए । धादिङमा ३९ जनाको मृत्यु भएको तथ्यांक छ। यहाँ ७ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।
यस्तै, काभ्रेमा ३९ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते हुँदा १८ जना बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ । मकवानपुरमा ७ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । नुवाकोटमा एकजना बेपत्ता भएको प्रहरीको तथ्यांक छ । सिन्धुपाल्चोकमा पहिरोमा परेर १० जनाको मृत्यु हुँदा १६ जना घाइते भएका छन् भने २ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
यस्तै, दोलखामा ५ जानको मृत्यु हुँदा २ घाइते भएका छन् भने २ जना बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ । रामेछापमा पहिरोमा परेर एकजनाको मृत्यु हुँदा ३ जना बेपत्ता भएका छन्। सिन्धुलीमा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।
उनका अनुसार पहिरोको जोखिममा रहेका २ सय २२ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने प्रदेशका मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र सिन्धुलीमा गरी ८७ घरपरिवार उच्च जोखिममा छन् ।