गाउँपालिका अध्यक्ष लामा स्वयं फिल्डमा: विद्युत सेवा संचालनकाे प्रयास तीव्र

राम कुमार दानी
१६ आश्विन २०८१, २०:३८
गाउँपालिका अध्यक्ष लामा स्वयं फिल्डमा: विद्युत सेवा संचालनकाे प्रयास तीव्र

हेटौंडा /  असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले मकवानपुरको भीमफेदी गाउँपालिकाका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। कुलेखानी फिडरबाट सिस्नेरी, इपा र बकैया १२ ठिंगनमा हालसम्म बत्ती बल्न सकेको छैन।

चाडपर्वको समयमा विद्युत सेवा नहुँदा भीमफेदी गाउँपालिका वडा नम्बर ८ को साबिक इपा पञ्चकन्या र बकैया १२ ठिंगनका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्। बिजुली नहुँदा टेलिफोन सेवा पनि बन्द भएकोले स्थानीयहरू सम्पर्कविहीन बनेका छन्। यसले गर्दा उक्त क्षेत्रका बासिन्दाका आफन्तजन चिन्तित बनेका छन्।

यस समस्यालाई समाधान गर्न भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा स्वयं फिल्डमा खटिएका छन्। उनका अनुसार, कुलेखानी फिडरको सिस्नेरी खण्डमा धेरै क्षति भएकोले अब कमाने फिडरबाट इपा पञ्चकन्या र बकैया १२ ठिंगनमा बत्ती बाल्ने प्रयास भइरहेको छ। आगामी शुक्रबार वा शनिबारसम्म बत्ती बाल्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको लामाले बताए।

अध्यक्ष लामाले विद्युत प्राधिकरणबाट बिजुलीको पोल, तार लगायत आवश्यक सामग्री लिएर आफै फिल्डमा बसेर लाइन विस्तारको काम गरिरहेको जानकारी दिए। यही असोज ११ र १२ गतेको लगातार वर्षापछि भीमफेदी ८ इपा पञ्चकन्यामा सडक, बिजुली र टेलिफोन सबै सेवाहरू अवरुद्ध भएका छन्।

प्रतिक्रिया
batti