कान्तिलोकपथ अझै अवरुद्ध: मर्मत कार्य जारी

राम कुमार दानी
१८ आश्विन २०८१, २१:११

हेटौंडा / गत असोज ११ र १२ गते परेको भारी वर्षाले ल्याएको बाढीपहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ अझै सञ्चालनमा आउन सकेको छैन। मकवानपुर र ललितपुर जिल्लाको सिमानामा रहेको बगुवा क्षेत्रको बागमती खोलामा रहेको पुलको केही भाग बगाएपछि यो मार्ग बन्द भएको हो।

सडक खुलाउन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा स्वयं घटनास्थल पुगेका छन्। उनका अनुसार नेपाली सेनाको एक टोलीसहित पाँचवटा मेसिन प्रयोग गरी बाटो खुलाउने प्रयास भइरहेको छ। लामाले क्षति निकै ठूलो भएको र मर्मत कार्य चुनौतीपूर्ण रहेको बताए। तर नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै सडक खुलाउन तीव्र प्रयास भइरहेको उनले जानकारी दिए।

प्राविधिक समस्या नआएमा आगामी आइतबारसम्म डाइभर्सन गरेर हेटौंडा-काठमाडौं आवतजावत सुचारु गर्न सकिने लामाको अनुमान छ। स्थानीय सरकार, नेपाली सेना र सडक डिभिजन कार्यालय मिलेर यस कार्यमा जुटेको उनले बताए। कान्तिलोकपथको अन्य खण्डमा, विशेषगरी छपेलीदेखि बगुवासम्म गएको पहिरो पन्छाउने काम भोलिसम्म सकिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
baguwa pul