डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण

पालिका डायरी
१८ आश्विन २०८१, २१:५३
डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण

हेटौंडा /  डिजिटल सवारी चालक अनुमतिपत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्टफोन हस्तान्तरण गरिएको छ। स्मार्ट लाइसेन्सको विकल्पको रूपमा नागरिक एपमा रहेको लाइसेन्स र क्यूआर कोडलाई ट्राफिक प्रहरीले स्मार्टफोनबाट स्क्यान गरी नियमन गर्न सक्ने जनाइएको छ।

बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा आज (शुक्रबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्टफोन हस्तान्तरण गरेका हुन्।

आगामी दिनमा सेवाग्राहीले स्मार्ट लाइसेन्स आफूसँगै बोक्नुपर्ने छैन। आफ्नै मोबाइल फोनमा रहेको नागरिक एप डाउनलोड गरी क्यूआर कोड सहितको सवारीचालक अनुमतिपत्र देखाए मात्र पुग्ने भएको छ। कुनै कारणवश ट्राफिक नियम उल्लंघन भएमा समेत सोही एपको सहायताबाट ट्राफिक प्रहरीले सोही स्थानमा नै जरिवाना गर्न सक्ने र सवारी चालकले पनि तोकिएको जरिवाना अनलाइन प्रणाली मार्फत दाखिला गर्न सक्ने भएको छ।

त्यसैगरी बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले स्मार्ट लाइसेन्स युगको अन्त्य भएको बताउँदै अब क्यूआर कोड सहितको डिजिटल लाइसेन्सलाई मान्यता दिएको जानकारी गराएका छन्।

श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको अध्यक्षता र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
Traffic-police_g0bfq6hJ3I