हेटौंडामा स्कुटर चढेर ८ किलो सुन ओसार्ने दुई भारतीय पक्राउ

पालिका डायरी
१९ आश्विन २०८१, ११:४७

मकवानपुर प्रहरीले ८ किलोभन्दा बढी सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार (आज) बिहान ३ बजेतिर हेटौँडा–१५, रातोमाटे चेकपोस्टमा ८ किलोभन्दा बढी सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार, पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा भारतको महाराष्ट्र राज्य, सांगली जिल्ला, पुजारवाडीका २५ वर्षका अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाल बाडलाई पक्राउ गरिएको हो । स्कुटर अभिषेकले चलाइरहेका थिए ।

उनीहरूको शरीर तथा स्कुटरमा तलासी गर्दा शरीरका विभिन्न भागमा लुकाएर बिलसमेत नभएको बिस्कुटको आकारका ८ थान सुन फेला परेको प्रहरीले जनाएको छ । उक्त सुन तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम अर्थात् आजको बजार भाउअनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया बराबरको सुन पारेको प्रहरीले जनाएको छ ।

सुन भन्सार छलेर अवैध तरिकाले भित्र्याएको हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया
462129041_3836455666642251_2856277837507925472_n