हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं सडक आइतबारबाट सञ्चालनमा आउने

पालिका डायरी
१९ आश्विन २०८१, २१:३३

हेटौंडा / गत हप्ता परेको अविरल बर्षापछि आएको पहिरोका कारण अवरुद्ध रहेको हेटौंडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आइतबारबट सञ्चालनमा आउने भएको छ । यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आइतबारबाट सवारीसाधन सञ्चालन हुने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आइतबारबाट सडक सञ्चालन आउने प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले बताए। जसका लागि प्रदेशको भौतिक मन्त्रालयको टीम, यातायात पूर्वाधार विकास निर्देशनालयको टीम फिल्डमै खटिएका छन् ।
यस्तै, इन्द्रसरोवर गाउँपालिका–४ स्थित माहालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकताअनुसार मर्मत र अप्ठ्यारो ठाउँहरूमा डाइभर्सन बनाएर बाटो सफा गरेको उनको भनाइ छ। फाखेल सडक भएर शनिबार केही मोटसाइकल सञ्चालनमा आएका छन् भने उक्त सडकखण्डमा फसेका सवारीसाधानसमेत गन्तव्यतर्फ लागेका छन् ।

यता, कुलेखानी सिस्नेरीतर्फको सडक भने सञ्चालनमा ल्याउन केही समय लाग्ने यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक पुस्कर पोखरेल बताउँछन् । उक्त सडकखण्डमा बाढीले सडक बगाएका ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भएपछि खोलाको बाटो भएर सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउने काम भइरहेको पोखरेलले जानकारी दिए ।

कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक खण्डमा भइरहेको काम र यातायात सञ्चालनको पूर्वतयारीका विषयमा बुझ्न शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको टोलीले उक्त सडकको निरिक्षण गरेका थिए ।

प्रतिक्रिया
IMG_7010