बाढी पहिरोबाट थाहानगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढि क्षति

पालिका डायरी
२० आश्विन २०८१, २०:५८

हेटौंडा /  थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । गत ११ र १२ असोजमा परेको वर्षाका कारण खानेपानी आयोजनाहरुमा क्षति भएको थाहा नगरपालिकाले जनाएको छ ।

वर्षाका कारण आएको बाढि पहरोले खानेपानीका १८ वटा इन्टेकमा क्षति पुगेको छ । त्यसैगरी २४ वटा खानेपानी रिजर्भ ट्याङ्कीमा क्षति पुगेको नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको तथ्याङ्कमा उल्लेख छ । विभिन्न साइजका गरी १६ हजार १७० मीटर पोलिथिन पाइप क्षति भएको छ भने एक हजार ३२४ मीटर जिआइ पाइपमा क्षति भएको पालिकाले जनाएको छ ।

नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार इन्टेकहरुमा भएको क्षति करिब ९ लाख रुपियाँ छ भने रिजर्भ ट्याङ्कीहरुको क्षति मूल्याङ्कन १ करोड ३१ लाख ७५ हजार रुपियाँ रहेको छ । त्यसैगरी पोलिथिन पाइप २० लाख १७ हजार ४५१ र जिआइ पाइपको क्षति मूल्याङ्कन २ लाख १० हजार ४६६ रुपियाँ रहेको नगरपालिकाका सव इन्जिनियर सीताराम ढकालले जानकारी दिए ।

नगरपालिकाको सबै १२ वटै वडाहरुबाट तथ्याङ्क संकलन गरी पालिकामा एकीकृत गरी क्षतिको मुल्याङ्कन गरिएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिए । सूचना अधिकारी भुजेलका अनुसार–‘खानेपानी आयोजनामा भएको क्षति पुर्ननिर्माणका लागि पालिकासंग बजेट अभाव भएका कारण खानेपानी डिभिजन, मन्त्रालय तथा विभागहरुमा अनुरोध गरी पठाइएको छ ।’ क्षतिको पुर्ननिर्माणका लागि पालिकाले सरकारी तथा गैर सरकारी निकायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
97dbf4ef-3d27-47de-b33e-c6c25b48c9bc