पुष्पाञ्जली आमा रात्री गस्ती समूहको तेस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा थापा

पालिका डायरी
२० आश्विन २०८१, २२:२५
पुष्पाञ्जली आमा रात्री गस्ती समूहको तेस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा थापा

पुष्पाञ्जली आमा गस्ती समूहको अध्यक्षमा कल्पना थापा मगर निर्वाचित भएकी छिन्। हेटौंडामा रात्रिकालीन सडक सुरक्षा र हिंसामुक्त सडक अभियानका साथै युवाहरूलाई लागूपदार्थ दुर्व्यसनीबाट मुक्त गर्दै हिंसाजन्य घटनाको दर शून्यतामा लैजाने उद्देश्यका साथ २०७४ सालमा स्थापना भएको पुष्पाञ्जली आमा रात्री गस्ती समूहको तेस्रो साधारण सभा सम्पन्न भएको छ।

तेस्रो साधारण सभाबाट अध्यक्षमा कल्पना थापा मगर, उपाध्यक्षमा धन मुत्तान, सचिवमा शुशीला कुमारी गौतम, कोषाध्यक्षमा गोमा शाह, सदस्यहरूमा बिना रिजाल, ज्ञानु जोशी, गोमा क्षेत्री, बिमला भारती, शारदा कार्की, बेली लामा सहित पछि एक जना मनोनित गर्ने गरी दश सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपले चयन गरिएको छ।

विजयादशमी, छठ तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम संस्थाका अध्यक्ष कल्पना थापा मगर र हेटौंडा वडा नं. ९ का अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

मकवानपुर जिल्लामा रातको समयमा आमाहरूको समूह बनाएर राजमार्ग र वडाका विभिन्न टोलमा दुर्व्यसन र हिंसा रहित समाज निर्माणको लागि गस्ती गर्दै आएको छ। विगत देखि समुदाय स्तरबाट नियमित गस्ती गरेर सुरक्षा निकायको सहयात्रीको रूपमा काम गर्दै आएको यस गस्ती समूहले शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुर्‍याएको कार्यक्रमका विशिष्ट अतिथि मकवानपुरका जिल्ला समन्वय समितिका पूर्व प्रमुख रघुनाथ खुलालले बताउनुभयो।

समुदायलाई अनुशासित राख्न दुर्व्यसन र हिंसारहित समाजले धेरै सहयोग पुर्‍याउँछ। घरकै आमाहरू नै सडकमा हिंसाजन्य घटनादर न्यूनीकरण गर्न र युवाहरूलाई कुलतमा लाग्न नदिन अहोरात्र रातिको समयमा पहरा दिनु निकै प्रशंसनीय काम भएको छ।

पुष्पाञ्जली आमा गस्ती समूहको कामलाई अवलम्बन गर्दै टोल विकास समितिहरू पनि रात्रिकालीन गस्ती समूह बन्दै गएका छन्। यसले समाजमा झैझगडा कम हुने, अव्यवस्थित मदिरा बिक्री वितरण, लागूपदार्थ दुर्व्यसन तथा घरेलु हिंसाको घटना समेत न्यूनीकरण हुँदै जानुमा ९ नं. वडा कार्यालय सधैँ सहकार्य गर्न तयार रहेको प्रमुख अतिथि वडा नं. ९ का अध्यक्ष सुकराम केसीले बताउनुभयो।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम विष्ट, ९ नं. वडा टोल समन्वय समितिका अध्यक्ष रमिला सापकोटा, पूर्व वडा अध्यक्ष लक्ष्मण भण्डारी, पूर्व जिल्ला समन्वय समितिका सदस्य सिता अधिकारी, वेतखोल्सी सामुदायिक वन समूहका अध्यक्ष वासुदेव प्याकुरेल, प्रगतिशील टोल विकास समितिका अध्यक्ष जयराम खतिवडा, मदन टोल विकास समितिका अध्यक्ष सूर्य स्याङ्तान, वडा नं. ९ खेलकुद समितिका सदस्य गोकुल केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

पुष्पाञ्जली आमा गस्ती समूहको प्रगति प्रतिवेदन शुशीला कुमारी गौतम र आर्थिक प्रतिवेदन कार्यवाहक कोषाध्यक्ष गोमा शाहले प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया
Untitled